Swornakshar Logo

नयाँ आइजीपीमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त

२८ माघ । काठमाडौं । नेपाल प्रहरीको २७औँ प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुरप्रसाद ज्ञवाली नियुक्त भएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल प्रहरी सेवामा ३० वर्षे सेवा अवधिसम्बन्धी व्यवस्थाका कारण माघ २९ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि नेपाल प्रहरीमा ज्ञवालीलाई नियुक्त
गरिएको हो ।

आईजीपीको दाबेदारका लागि डीआईजी तारिणीप्रसाद लम्साल र सूर्य उपाध्याय पनि रहेका थिए । तर कार्यसम्पादन मूल्याङ्कनको आधारमा १ नम्बरमा रहेका ज्ञवालीलाई बैठकले आईजीपी बनाएको हो । कार्यसम्पादन मूल्याङ्कनको आधारमा लम्साल दोस्रोमा थिए भने उपाध्याय तेस्रोमा थिए ।

ज्ञवाली प्रहरी निरीक्षकबाट डीआईजीसम्म पुग्दा कुनै विवादमा मुछिएका छैनन् ।

यसअघि दाङ, रुकुम, बारा, झापा, केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश नम्बर एकको प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्युरोमा काम गरिसकेका छन् । २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

उनको पहिलो पोस्टिङ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा भएको थियो । २०५८ वैशाख १८ गते डीएसपी, २०६६ मंसिर ३ गते एसपी, २०७३ असार २८ गते एसएसपी र २०७५ असोज २८ मा डीआईजीमा बढुवा भएका हुन् ।

आईजीपी खनालसँगै आजबाट ३ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र १८ जना डीआईजीले समेत अवकाश पाएका छन् ।

यी हुन् आजबाट अवकाश पाएका उच्च प्रहरी अधिकारी

सर्वेन्द्र खनाल, प्रहरी प्रमुख (आईजीपी)
पुस्कर कार्की (एआईजी)
ठूले राई (एआईजी)
धीरु बस्न्यात (एआईजी)

यसैगरी अवकाश पाउने डीआईजीहरू मनोज न्यौपाने, शेरबहादुर बस्नेत, केदार रिजाल, नारायणसिंह खड्का, पूर्णचन्द्र जोशी, कमल जीटी, दानसिंह बोहरा, हरिभक्त प्रजापति, रामप्रसाद श्रेष्ठ, पिताम्बर अधिकारी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, दीपक थापा, सुरेशविक्रम शाह, महेशविक्रम शाह, महेन्द्र पोखरेल, सुरज केसी, दिनेश अमात्य छन् ।