Swornakshar Logo

कोरोना भाइरसले हजार भन्दा बढीको मृत्यु, वरिष्ठ चिनियाँ अधिकारी बर्खास्त

२८ माघ । काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसका कारण हजार भन्दा बढीको ज्यान गएपछि चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण हुबेई प्रान्तमा सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ । आइतबार ९७ जनाको मृत्यु भएको थियो । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार १८ पुगेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबेई स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा आयोगका प्रमुख घटुवामा परेका छन् । चन्दा संकलनमा सक्रिय रहेको भन्दै स्थानीय रेडक्रसका सहायक निर्देशकलाई समेत पदमुक्त गरिएको छ ।

सोमवार एकैदिन १०३ जनाको मृत्यु भएको भए पनि नयाँ संक्रमणको संख्या अघिल्लो दिनको भन्दा २० प्रतिशतले घटेको छ ।

सोमवार स्वास्थ्य आयोगले हुबेईमा २ हजार ९७ जनामा नयाँ संक्रमण भएको बताएको छ । अघिल्लो दिन २ हजार ६१८ जनामा नयाँ संक्रमण भेटिएको थियो ।

हाल चीनमा कोरोना भाइरसका कारण ४३ हजार १०८ जना संक्रमित रहेका छन् ।