Swornakshar Logo

सरकारले चीनमा रहेका नेपालीलाई वाइड बडी जहाजमार्फत स्वदेश ल्याउने

२७ माघ । काठमाडौं । सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ ।

चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो ।

चीनमा रहेका नेपालीको उद्धारका लागि निगमले अबको एक दुई दिनभित्रै आफ्नो वाइड बडी जहाज चीन पठाउने तयारीमा रहेको बताएको छ । जहाज पठाउने आन्तरिक तयारी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले बताइन् ।

मन्त्रालयले वाइड बडी जहाज लैजानका लागि मन्त्रालय र निगमका पदाधिकारी एवं प्रतिनिधिबीच भएको छलफलमा निगमलाई आग्रह गरेको छ ।

निगमले पनि नियमित विजिनेसमा असर नपर्ने गरी वाइड बडी जहाज पठाउने वचन दिइसकेको छ । निगमको वाणिज्य विभागका अनुसार वाइड बडी जहाज पठाउँदा नियमित व्यवसायमा केही असर पर्नेछ । त्यसैले जहाज पठाउनुपूर्व यात्रु तथा एयरलाइन्सलाई पूर्वसूचना गर्नुपर्ने हुन्छ ।

वाइड बडी जहाज पठाउँदा करीब २ दिनको उडान व्यवस्थापन गर्नुपर्ने भएकाले सोको व्यवस्थापकीय काम थालिएको विभागले बताएको छ ।

कोरोना प्रभावित नेपालीलाई लिनका लागि निगमको जहाज लैजाने तयारीको जिज्ञासामा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले निगमको वाइड बडी जहाज लैजाने विषयमा छलफल भएको तर यस विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि मात्रै अधिकारिक हुने बताए ।

चीनको हुवेई प्रान्तको वुहान प्रान्तबाट १ सय ८० नेपालीले स्वदेश फर्कनका लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् ।

नेपालको मित्रराष्ट्र चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा फैलिसकेको छ भने विश्वका २३ मुलुकमा फैलिएको छ ।

वुहानमा अधिकांश अध्ययनका लागि नेपाली गएका छन् । उनीहरुले आफूहरुको छिटो उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । अभिभावकले समेत आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन सरकारसँग माग गर्दै आएका छन् ।