Swornakshar Logo

नेपालले एक लाख मास्क चीनलाई सहयोग गर्ने

२३ माघ । काठमाडौं । नेपाल सरकारले १ लाख संख्यामा प्रोटेक्टिभ मास्क चीन सरकारलाई सहयोग गर्ने भएको छ । चीनको वुहानमा फैलिएको कोरोना भाइरसले चीन आक्रान्त भइरहेका बेला सावधानी अपनाउन नेपाल सरकारले तत्काल एक लाख मास्क उपलब्ध गराउने भएको हो ।

कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति कार्ययोजनाअनुरूप तयारीमा जुट्न लाई प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई बालुवाटारमा बोलाएर निर्देशन समेत दिएका छन् ।

प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधान तथा र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरू सहितको विशेष बैठकमा चीनबाट फिर्ता ल्याउनुपर्ने नेपाली विद्यार्थी र अन्यहरूलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्द रूपमा सम्पन्न गर्न सबैको ध्यानाकर्षण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

चीनबाट उद्धार गरी नेपाल ल्याइने विद्यार्थी र अन्यलाई शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा राख्ने तयारी भएको थापाले बताए ।

प्रधानमन्त्रीले बैठकमा नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूको लागि क्वारेन्टाइनस्थल व्यवस्थित गरी नेपाल ल्याउन समेत निर्देशन दिएको थापाल बताए । सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरे भने परराष्ट्र सचिव शंकरदास वैरागीले बैठकमा पछिल्लो अवस्थाका बारेमा जानकारी गराए ।