Swornakshar Logo

राष्ट्रपति भण्डारीको निम्तोलाई कांग्रेसका तीन नेताद्वारा बहिस्कार, केही नेतासँग गोप्य भेट

२१ माघ । काठमाडौं । राष्ट्रपति विद्या देवि भण्डारीले नेपाली कांग्रेसका नेताहरूलाई बोलाएर गुपचुप छलफल गरेको रहस्य खुलेको छ । पछिल्ला दिनमा राष्ट्रपति भण्डारीले अनावश्यक रुपमा राजनीतिक सक्रियता बढाउँदै भन्दै आलोचना भइरहेका बेला कांग्रेसका नेताहरूसँग छलफल गरेकी हुन् ।

बुधबार नेपाली कांग्रेसका केन्द्रीय तहका केही नेताहरूलाई राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर डेढघण्टा छलफल गरेकी हुन् । राष्ट्रपति भण्डारीले कांग्रेस नेताहरू प्रदीप गिरी, कृष्णप्रसाद सिटौला, डा.रामशरण महत,सुजाता कोइराला, डा.नारायण खड्का, डा.शेखर कोइराला र ज्ञानेन्द्रबहादुर कार्कीलाई बोलाएकी थिइन् ।

राष्ट्रपतिको निम्तो स्वीकार गर्दै सुजाता कोइराला, डा.नारायण खड्का, डा.शेखर कोइराला र ज्ञानेन्द्रबहादुर कार्की शीतल निवासमा गएका थिए । यता प्रदीप गिरी, कृष्णप्रसाद सिटौला र डा.रामशरण महतले भने भण्डारीको निम्तो बहिस्कार गरिदिएका छन् ।

राष्ट्रपति भण्डारीले डेढ घण्टा लामो भेटमा संविधानको कार्यान्वयनमा चासो देखाएको बताइएको छ । राष्ट्रपति भण्डारीले कांग्रेस नेताहरूसंग संविधानको प्रस्ताबनामै समाजवादप्रति प्रतिबद्ध उल्लेख गरिएकोले त्यसबारे कांग्रेसको धारणा जान्ने रहर लागेर तपाईहरूलाई बोलाएको हुँ भनेर भनेकी थिइन् ।

संविधान कार्यान्वयनलाई चासो देखाएको जस्तो गरे पनि राष्ट्रपति भण्डारीले समाजवाद उन्मुख अर्थतन्त्रलाई कसरी अघि बढाउने भनेर पछिल्लो समय कार्यकारी प्रमुखले जस्तो गरी भेटघाट र छलफल अघि बढाएकी हुन् । जुन कुरा राष्ट्रपतिको नभई सरकार प्रमुखको चासोको विषय हो ।