Swornakshar Logo

रगत लत्पतिएको अवस्थामा वडा अध्यक्षको शव गोठभित्र

२१ माघ । काठमाडौं । मंगलबार बिहान अछामको पञ्चदेवल बिनायक नगरपालिक– २ माथिल्लो बिनायकका वडा अध्यक्ष पदमबहादुर धामीको शव फेला परेको छ । धामीको अनुहारभरि रगत लत्पतिएको अवस्थामा आज बिहान शव भेटिएको हो ।

अछामको माथिल्लो बिनायकस्थित धामीगाउँको गैरीगाउँ भन्ने ठाउँमा स्थानीयको भैँसी बाधेको गोठभित्र धामीको शव भेटिएको नेपाली काँग्रेस अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सिनाले बताए ।
प्रवक्ता तिमिल्सिनाका अनुसार अध्यक्ष धामीको हत्यापछि शव गोठमा लगेर फालिएको हुनसक्ने शङ्का गरिएको छ । हत्या कसले र किन गरेको हो भन्ने बारे खुल्न नसकेको उनी बताउँछन् ।

बिहान ७ बजे भैसीलाई घाँस हाल्न गोठमा गएका एक महिलाले शव देखेपछि घटना सार्वजनिक भएको हो । घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अछामका प्रहरी प्रमुख डीएसपी दीपक भारतीका अनुसार घटनास्थल र शवको बारेमा अनुसन्धान भइरहेको छ ।

४० वर्षीय धामी नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।