Swornakshar Logo

चीनमा रहेका नेपालीलाई फर्काउनु अघि स्वास्थ्य परीक्षण, कोरोना देखिए चीनमै उपचार गरिने

२० माघ । काठमाडौं । सरकारले चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल फर्किनका लागि आइतबार बिहानसम्म १८० जनाले फारम भरेको र उनीहरु सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने बताएको छ ।

फारम भरेका सबैको स्वास्थ्य परीक्षण हुने मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । परीक्षणका क्रममा संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने उनले बताए ।

चीनमा पनि सबैको स्वास्थ्य परीक्षण हुन्छ । यदि पोजेटिभ देखियो भने चीनले पठाउँदैन त्यही उपचार हुन्छ । बाँकी अन्यलाई फिर्ता गरीने उनले बताए ।

अहिलेसम्म सबै सुरक्षीत रहेको पनि प्रवक्ता श्रेष्ठले बताए । उनीहरुलाई नेपाल फर्काएपछि क्वारेन्टाइनमा राखिने पनि उनले बताए ।

क्वारेन्टाइनमा स्वस्थ मान्छेलाई राखिन्छ । उहाँहरु सबै स्वस्थ हुनुहुन्छ । संक्रमितलाई राखिने भनेको आइसोलेसनमा हो श्रेष्ठले भने ।

मन्त्रालयले उनीहरुलाई राख्ने ठाउँको पहिचान भइरहेको बताएको छ । मंगलबर बेलुकीसम्म ठाउँ एकिन हुने प्रवक्ता श्रेष्ठले बताए ।

उनले फर्काइएका नेपालीलाई दुई सातासम्म क्वारेन्टाइनमा राखिने बताए । यसअघि वुहानबाट फर्किका एक जनामा संक्रमण देखिएको थियो ।