Swornakshar Logo

वुहानमा रहेका नेपाली विद्यार्थी फिर्ता ल्याइने, संक्रमितलाई नेपालमै उपचार व्यवस्था

१९ माघ । काठमाडौं । चीनको वुहानमा रहेका १७७ नेपाली विद्यार्थीलाई नेपाल फिर्ता ल्याइने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि वुहानबाट नेपाली विद्यार्थीलाई नेपाल फिर्ता ल्याइने भएको हो । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी वुहानमा रहेका विद्यार्थीलाई नेपाल ल्याइने तयारी भएको बताएको छ ।

नेपाली दूतावासले वुहानमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित तबरले नेपाल ल्याउनका लागि फाराम भर्न शनिबार नै सूचना जारी गरेको छ ।

विद्यार्थीहरुलाई चीनबाट नेपाल ल्याउँदा विमानस्थलमा स्वस्थ्य परीक्षण गराइने छ । चीनबाट नेपाल प्रस्थान हुने क्रममा पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा फेरि स्वास्थ्य परीक्षण गरिनेछ ।

यदि स्वास्थ्य परीक्षणको क्रममा संक्रमण भएको पाइए सरकारले उपत्यकाको विभिन्न अस्पतालमा व्यवस्था गरिएको आइसोलेसन वार्डमा राखी उपचार गर्ने व्यवस्था मिलाएको छ । यस्तै मन्त्रालयका अनुसार भाइरसबाट संक्रमणको आशंका भएका ब्यक्तिलाई पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार दुई साता निगरानीमा राखिने बताइएको छ ।

मन्त्रालयका प्रवक्ता मोहन प्रसाद श्रेष्ठले शंकास्पद हवाइ यात्रुलाई दुई हप्ता निगरानीमा राख्नका लागि १ सय ५० जना अट्ने क्षमता भएको भवनको खोजी भइरहेको बताए ।

चीनबाट आएका नेपाली नागरिकलाई छुट्टै क्वारेन्टइनमा राख्नका लागि भक्तपुरको विद्युत तालिम केन्द्र, स्टाफ कलेज जावलाखेल र कृर्तिपुरको केही सम्भावित क्षेत्रहरुको अवलोकन भइरहेको श्रेष्ठले बताए ।

सरकारले नेपालीलाई उद्दार गर्न जहाज तयारी अवस्थामा राखेको भएपनि कहिले पठाउने भन्नेबारे चाहिँ टुंगो लागिसकेको छैन ।

नोवेल कोरोना भाइरसको संक्रमण फैलिएपछि वुहानबाट अमेरिका,जापान, श्रीलङ्का, अष्ट्रेलिया लगायतका मुलुकले आफ्ना नागरिकलाई स्वदेशमा फर्काइसकेको छन् ।

स्वास्थ्य परीक्षणको नाममा वैदेशिक रोजगारीमा जानेमाथि लुट

प्रवक्ता श्रेष्ठका अनुसार वैदेशिक रोजगारीमा जाने नागरिकलाई कोरोना भाइरस जाँच्ने भन्दै विभिन्न स्वास्थ्य संस्थाहरुले आर्थिक लुट मच्चाई रहेको बताए । मेडिकल चेकजाँचसँगै कोरोना भाइरसको जाँच गर्ने भन्दै नागरिकबाट महँगो शुल्क उठाएको उनले बताए । जवरजस्ती कोरोना भाइरसको टेष्ट गराउनेलाई कारबाहीको दायरामा ल्याउने समेत उनले बताए ।