Swornakshar Logo

भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउन नेकपा बैठकमा माग

१८ माघ । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने माग गरिएको छ । उक्त बैठकमा विभिन्न समूहका टोली नेताहरुले आ–आफ्नो समूहका निष्कर्ष रिपोर्टिङ गर्दै भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय हुनु पर्ने माग उठेको बताए ।

समूह नम्बर ५ का टोली नेता ठाकुर गैरेले आफ्नो समूहमा भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय हुनु पर्ने माग उठेको बताए । उनले सार्वजनिक पदमा बस्नेको सम्पत्ति विवरण पनि छानविन गर्नुपर्ने माग बताए ।

पछिल्लो समय पार्टीका नेताहरु, मन्त्रीहरु, विभिन्न काण्डमा मुछिन थालेको भन्दै उनीहरुले कडाइका साथ छानविन गरी सत्यतथ्य बाहिर ल्याउन मागसमेत गरेका छन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपमा पनि पार्टीले छानविन गर्नुपर्ने माग बैठकमा उठेको छ । समूह नम्बर १५ का टोलीनेता हिमाल शर्माले छलफलमा महरा प्रकरणमा पार्टीले गहन छानविन गर्नुपर्ने माग उठेको बताए ।

साथै यति होल्डिङ्स प्रालिको जग्गा भाडा लगायतका विभिन्न अनियमितताको गम्भीर छानविनको माग उठेको छ । बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा यस्ता कुरा उठेका हुन् ।

बैठकमा यति होल्डिङ्सको जग्गा भाडामा अनियमितता भएको र बालुवाटार जग्गा प्रकरणबारे पनि चर्चा भएको थियो ।

टोली नेता युवराज चौलागाईले समूह नम्बर १० मा यती होल्डिङ्स जग्गा, बालुवाटार जग्गा प्रकरण, एनसेल लाभकर प्रकरणबारे पार्टीको दृष्टिकोण प्रष्ट हुनुपर्ने माग उठेको बताए ।

पूर्णकुमारी सुवेदी नेतृत्वको समूह नम्बर ७ मा भने यति होल्डिङ्स, बालुवाटार जग्गा अनियमितता प्रकरणमा उच्चस्तरीय छानविन टोली गठन गरी छानबिन गर्न माग गरिएको छ ।

समूहगत छलफलमा केन्द्रीय सदस्य धर्मशीला चापागाईंले सार्वजनिक पदमा पुग्ने जोसूकै पनि भ्रष्टाचारमा उद्यत हुन थालेको भन्दै भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने बताइन् ।

उनले समाजवाद के हो र समाजवादमा पुग्ने आधारमा के हो भन्दै प्रश्नसमेत गरिन् । हाम्रो व्यवहार पूँजीवादमा गयो,’ उनले भनिन्, नारामा समाजवाद, व्यवहारमा पूँजीवाद देखियो । उनले नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने मागसमेत गरिन् ।

उनले स्वास्थ्य र शिक्षालाई निःशुल्क गराउनुपर्नेमा जोड दिँदै यी दुवै आधारभूत क्षेत्रका माफियालाई पार्टीमा ठाउँ दिन नहुने बताइन् । यसैबीच १५ वटै टोली नेताले सगुहगत छलफलमा उठेको विषय रिपोर्टिङ सकेका छन् ।

बैठकमा उठेका प्रश्नको जवाफ आइतबार अध्यक्ष र महासचिवले दिनेछन् ।