Swornakshar Logo

शैक्षिक विकासका लागि प्रदेश सरकार पछि हट्दैनः मुख्यमन्त्री पौडेल

१७ माघ । काठमाडौं । हेटौंडा तथा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा आगामी पाँच वर्षभित्र आमूल परिवर्तन गर्ने दाबी गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा निर्मित बुद्ध माध्यामिक विद्यालय हेटौँडा–१२ को नवनिर्मित विद्यालय भवनको उद्घाटनको क्रममा मुख्यमन्त्री पौडेलले प्रदेशको शैक्षिक तथा अन्य विकासमा प्रदेश सरकार पछि नहटेको बताए ।

मुख्यमन्त्री पौडेलले सीपमूलक प्राविधिक शिक्षाका लागि प्रदेश सरकार लागेको र एक स्थानीय तह बराबर कम्तीमा पनि एक प्राविधिक शिक्षालयको अवधारणा अगाडि सारेको बताए ।

सीपमूलक शिक्षामार्फत विद्यार्थीलाई दक्ष बनाएर आफ्नै देशमा रोजगार बनाउनतर्फ लाग्नुपर्ने उनले बताए । सीपमूलक शिक्षाले देशका लाखौँ जनशक्ति अर्काको देशमा गएर पसिना बगाउन नपर्ने पनि बताए । देशका लागि आवश्यकपर्ने प्राविधिक एवं दक्ष जनशक्ति बाहिरबाट मगाउनु पनि नपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले देशभर सात हजार पाँचसय ५३ वटा विद्यालय बनाउँदै गरेको र अधिकांशको निर्माण सम्पन्न भएको बताए ।

मकवानपुरमा भूकम्पले भत्किएका विद्यालयमध्ये दुईसय ५२ वटा विद्यालय भवनको पुनःनिर्माणको काम भइरहेको ज्ञवालीले बताए । सुविधा सम्पन्न आधुनिक विद्यालय भवन बनेकाले अब गुणस्तरीय शिक्षामा ध्यान दिन शिक्षक अधिकृत ज्ञवालीले विद्यार्थी र अभिभावकलाई अनुरोध गरे ।

त्यस्तै भूकम्पले नष्ट भएका भौतिक संरचना दीर्घकालीन भएकोे जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । अब हामीले त्यसको उचित व्यवस्थापन र संरक्षण गरि फाइदा लिनुपर्ने बताए ।

हेटौँडा उपमहानगरपालिका वडा नं १२ का अध्यक्ष ललित घलानले कार्यक्रममा बोल्दै विगतमा पछाडिपरेको यस क्षेत्रले विकासमा अग्रसर भएको बताए ।