Swornakshar Logo

नेकपा बैठकमा एमसीसी देखि गाँजासम्म चर्चा

१६ माघ । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकको आज दोस्रो दिनमा केन्द्रीय सदस्यहरू १५ समूह बनाएर छलफलमा जुटे ।

तर समूहगत छलफलमा भने अचम्म अचम्मका विषयमा पनि छलफल भएका छन् । अहिले नेपालमा सबैभन्दा बढी बहसको विषय बनेको छ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) हो ।

समूहगत छलफलमा एमसीसी पास गर्नु हुँदैन भन्ने विषय सबैभन्दा बढी उठेको छ । माधवकुमार नेपाल समूह र तत्कालीन माओवादी केन्द्रका सबै नेताहरूले एमसीसी पास गर्न नहुने धारणा राखेको सुदीप मल्लले बताए ।

उनले भने, ‘हाम्रो समूहमा सबैभन्दा बढी उठेको कुरा एमसीसी र बहुपदको बारेमा छ । एमसीसी पास हुनु हुँदैन र विधान संशोधन भएपछि सबै तहका कमिटीमा उपाध्यक्षको व्यवस्था गर्नुपर्छ भन्ने छ ।’

अर्को समूहमा पनि एमसीसी र बहुपद केन्द्रमा मात्र होइन, सबै कमिटीमा उपाध्यक्षको व्यवस्था हुनुपर्ने विषय उठेको अर्का केन्द्रीय सदस्य दिलकुमारी पन्तले बताइन् ।

उनले भनिन्, ‘हाम्रो समूहका अधिकांश साथीहरूले एमसीसी पास हुनु हुँदैन भन्ने कुरा राख्नुभएको छ । अर्को बहसको कुरा उपाध्यक्षको पद केन्द्रदेखि स्थानीय तहको पार्टी कमिटीमा हुनुपर्छ भनेका छन् ।’

आजको समूहगत छलफलमा सांगठनिक र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित छ । तर १५ वटै समूहमा समूह नेता र उपनेता छान्न आधा दिन लागेको थियो ।

१५ समूहमा विभाजन गरेर छलफलमा जुटेका केन्द्रीय सदस्यहरूका समूहमा ३ समूह पार्टी कार्यालय कोटेश्वरमा छन् । ४ समूह पार्टी कार्यालय धुम्बाराहीमा । अरू समूह राष्ट्रिय सभागृहमा छन् ।

बैठकमा गाँजाको छलफलः

केन्द्रीय कमिटीको छलफलमा लागुऔषध गाँजा पनि सरकारले खुल्ला गर्नुपर्छ भन्ने बहस पनि केन्द्रमा छ । गाँजा खेतीका लागि पार्टीले पहल गर्नुपर्छ भन्ने धारणा राखेका छन् ।

एक केन्द्रीय सदस्यले भने, हाम्रो समूहमा एमसीसी पासगर्नु हुँदैन भन्ने विषय सबैभन्दा बढी उठ्यो । सरकारको आलोचना पनि भयो र सरकारले गाँजा खुल्ला गर्नुपर्छ, त्यसका लागि पार्टीले पहल गर्नुपर्छ भन्नेसम्म कुरा आएको थियो ।