Swornakshar Logo

कांग्रेस दलाल हो, भण्डाफोर गर्नुपर्छः नेकपा

१५ माघ । काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई सम्झौतापरस्त भन्दै दलालको संज्ञा दिएको छ ।

आजबाट काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको दोस्रो केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा कांग्रेसको चरित्र चित्रण गरेको हो ।

“आज नेपाली समाजको राजनीतिक र सामाजिक रूपान्तरणको क्षेत्रमा भूमिका खेल्ने राजनीतिक दलहरूमा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै आम देशभक्त र श्रमजीवी नेपाली जनताको आशा र भरोसाको केन्द्र हो । नेपाली कांग्रेस मूलतः पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी भए पनि आफ्नो ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिका कारण यसले आर्थिक, सामाजिक रुपान्तरणको प्रतिनिधित्व गर्न सक्दैन । तथापि, संविधान कार्यान्वयन र लोकतान्त्रीकरणको प्रक्रियालाई अगाडि बढाउन कांग्रेससँग आवश्यकताअनुसार सहकार्य गर्नुपर्छ,” अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
“सहकार्य गर्दा उसको प्रतिक्रियावादी चरित्रको आलोचना र भण्डाफोर गर्ने कुरालाई बिर्सनुहुँदैन,” नेकपाले प्रतिवेदनमा भनेको छ ।

नेकपाले अन्य साना दल, क्षेत्रीय पार्टी र साना वाम शक्तिसँग आलोचना, सहकार्य र एकताको नीति लिने बताएको छ । “उनीहरूलाई आर्थिक–सामाजिक रूपान्तरणको कार्यमा सहभागी गराउन जोड लगाउनुपर्छ,” नेकपाले प्रतिवेदनमा उल्लेख गरेको छ ।