Swornakshar Logo

को हुन् अमेरिकामा लुकेकी उपमेयर दन्ता नेपाली

९ माघ । काठमाडौं । कर्णाली प्रदेशको विकट जिल्ला हो, कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाकी उपमेयर हुन्, दन्ता नेपाली ।

दन्ता अहिले दोस्रो पटक देशभर चर्चामा छन् । पहिलो पटक दन्ताको चर्चा उपमेयरमा विजयी भएपछि भएको थियो । उनी सबैभन्दा कान्छी उपमेयर थिइन् । उनी उपमेयरमा विजयी हुँदा २३ वर्षकी थिइन् । २ वर्षअघि भएको स्थानीय तह निर्वाचनमा विजयी हुँदा जति चर्चा पाएकी थिइन दन्ताले, अहिले पनि त्यति नै चर्चा भएको छ ।

कर्णालीको दलित परिवारमा आजभन्दा २५ वर्ष पहिला जन्मिएकी दन्ता राजनीतिमा भने कक्षा ४ मा पढ्दा नै लागेकी थिइन् । शिक्षित परिवारमा जन्मिएकी दन्ता ४ कक्षामा पढ्दा नै माओवादी जनयुद्धमा होमिएकी थिइन् । तर, उनलाई पछि पार्टीले नै सम्झाइबुझाई घर फर्काएको थियो । उनी घर फर्किएर पुनः पढ्न थालिन् ।

माओवादी जनयुद्धको आधार इलाका भएको जिल्ला थियो, कालीकोट । २०६७ सालमा एसएलसी पास गरेकी दन्ता एएसली पास गरेपछि कालीकोटबाट सपनाको शहर काठमाडौंमा पढ्न आइन् ।

उनका बुबा शिक्षक थिए तर त्यसले गुजारा नभएपछि आफ्नै व्यापार गर्न थाले । व्यापारीकी छोरी काठमाडौं पढाउन त्यति समस्या नरहेको दन्ताले नै स्विकार्थिन् ।
उनी काठमाडौं आएर गान्धी आदर्श उच्चमावि गोठाटारमा प्लस टु पढिन् । उनले २०७० सालमा प्लस टु पास गरेकी हुन् । प्लस टुपछि उनी वागबजारको पद्मकन्या क्याम्पसमा भर्ना भइन् । उनले त्यहाँ बीबीएस पढ्न थालिन् ।

११ वर्षमा राजनीति गर्न हिँडेकी दन्ता काठमाडौंमा राजनीतिमा सक्रिय भइन् । उनले कालीकोटपछि राजनीतिक थलो पद्मकन्या क्याम्पसलाई बनाइन् ।

क्याम्पस पढ्न काठमाडौं आएकी दन्ताको भाषा पनि मिल्दैनथ्यो । न त लवाइ खवाइ नै । उनी विस्तारै राजधानीसँग परिचित हुँदै गइन् ।

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेविसंघको दबदबा रहेको पद्मकन्या क्याम्पसमा उनले राजनीति गर्न भने काठमाडौंसँग घुलमिल हुनुभन्दा बढी कठिन थियो ।

२०७१ सालमा उनी पद्मकन्या क्याम्पसको अखिल क्रान्तिकारीकी इकाई कमिटी अध्यक्ष बनिन् । त्यसपछि उनको सङ्घर्षको दिन सुरु भयो । कयौँ पटक अखिल क्रान्तिकारी र नेविसंघबीच झडप भए । झडपको केन्द्रमा हुन्थिन् तिनै दन्ता ।

२ सङ्गठनबीच झडप हुँदा उनको टाउको पनि फुटेको थियो । उनी कहिल्यै पनि राजनीतिबाट पछाडि फर्किनन् । १४ फागुन २०७३ मा हुने भनेको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीबाट पद्मकन्या क्याम्पसमा सभापतिको टिकट पाइन् तर स्ववियु निर्वाचन भएन ।

युवा नेतृत्व राजनीतिमा किन आउँदैन भनेर बहस भइरहँदा दन्ता जस्ता युवाहरू राजनीतिमा आउँदा पनि धेरै सकारात्मक चर्चा भएको थियो । तर, तिनै दन्ता ४ महिनादेखि आफ्नै स्थानीय तहसँग सम्पर्कमा छैनन् ।

हक्की स्वभावकी दन्ता नेपाली अहिले अमेरिकामा रहेको नगरपालिकाका मेयर रतनबहादुर शाही बताउन थालेका छन् ।

उनले पढाइ छाडेर राजनीति रोजेकी थिइन् । पढाइ राजधानीमा नै छाडेर कालीकोट गएर उपमेयरको चुनाव लडिन् र जितिन् पनि ।

काठमाडौंमा पढ्दा दैनिक राजनीतिमा जोडिने दन्ता भूकम्प गएपछि पनि उद्धारमा राम्रै खटिन् । सामाजिक सेवा र राजनीतिमा लागेकी दन्ता एकाएक अमेरिका गएर सम्पर्कविहीन भएपछि पुनः चर्चा र खोजीमा छन् ।

स्थानीय निर्वाचनअघि मेयर नै आफू हुन पाउनुपर्छ भन्दै पार्टीसँग लडेकी थिइन् दन्ता । मेयरमा उनीभन्दा राजनीतिमा अग्रज माओवादी सेनाका पूर्वलडाकु रतनबहादुर शाहीले टिकट पाए । उनले उपमेयरमा नै चित्त बुझाइन् ।

उनी अमेरिकामा आईसीएमए अर्थात् इन्टरनेसनल सिटी मेनेजर एसोसिएसनले आयोजना गरेको गोष्ठीमा भाग लिन गएकी हुन् । तर, उनी उतै लुकेर बसेको बताइएको छ ।

यता भने उनको राजनीतिक, सामाजिक र वैचारिक साथै राष्ट्रिय स्वाभिमानप्रतिको निष्ठामाथि गम्भीर प्रश्न त उठेको छ नै, युवा नेतृत्वमा रहेको लोभ र राष्ट्रप्रतिको गैरजिम्मेवारीबारे पनि बहस सुरु भएको छ ।