Bagmati Samachar Logo

यी हुन् बच्चाहरु हुर्काउन सबैभन्दा राम्रा देश

२ माघ । काठमाडौं । युएस एण्ड वल्ड रिपोर्टको वार्षिक अनुसन्धानले बच्चा हुर्काउन सबैभन्दा राम्रो देश कुन हो भन्ने पत्ता लगाएको छ । बच्चाहरुको विकसित सार्वजनिक शिक्षा प्रणालीलाई हेर्ने हो भने पहिलो रोजाइमा अमेरिका पर्दछ । तर त्यसबाहेक सुरक्षा, व्यक्तिगत खुसी, पारिवारिक सन्तुष्टि, मानव अधिकार, लैङ्गिक समानता, वातावरणमैत्री जीवनलगायतका पक्षलाई हेर्दा चाहिँ डेनमार्क, स्वीडेन र नर्वे सबैभन्दा उपयुक्त देश भएको उक्त अनुसन्धानले देखाएको छ ।

वरिष्ठ डाटा रिपोर्टर डेलिड्र मेक फिलिप्सका अनुसार यी तीनैवटा देशमा सुत्केरी वा अभिभावक बिदासम्बन्धी अधिक राम्रो सुविधा रहेको र प्रि–स्कुललगायतका निःशुल्क सेवा प्रदान गर्नुका साथै समस्त रुपमा शिक्षा प्रणाली पनि सबैभन्दा उत्कृष्ट रहेको बताएका छन् ।

अनुसन्धानले देखाए अनुसार सुरक्षा व्यवस्थाकै कारण यो वर्ष अमेरिका १८ औँ स्थानमा परेको बताइएको छ । अमेरिकामा सामूहिक बन्दुक हमला भइरहन्छ जस्का कारण बालबालिका कम सुरक्षित रहन्छन् ।

बच्चाहरुको उचित बाल्यकाल प्रदानको आधारमा चौथोमा क्यानडा त्यसपछि क्रमशः नेदरल्यान्ड, फिनल्यान्ड, स्वीट्जरल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया र अष्ट्रिया रहेका छन् । बेलायत एघारौँ स्थानमा रहेको छ भने जर्मनी १३, जापान १९, चीन ४३, भारत ५९ औँमा रहेको छ । बेस्ट कन्ट्रिज रिपोर्टले ६५ भिन्दाभिन्दै क्षेत्रका ७३ राष्ट्रहरुको डाटा विश्लेषण गरि रिपोर्ट तयार पार्ने गरेको छ ।

रिपोर्ट तयार पार्नका लागि अमेरिका, एसिया, युरोप, मध्य पूर्व र अफ्रिकामा २० हजार भन्दा धेरै मानिसमा सर्वेक्षण गरिएको थियो । जस अन्तर्गत मध्यमस्तरका देखि धनी वर्गमा पर्नेसम्मका नागरिकहरुको डाटा लिइएको हो ।

सबैभन्दा उत्कृष्ट मुलुकमा चाहिँ स्वीट्जरल्यान्ड लगातार चौथो वर्ष शीर्ष स्थानमा रहेको छ, त्यस्तै दोस्रोमा क्यानडा अनि तेस्रोमा जापान, पाचौँ जर्मनी, छैठौँ अष्ट्रेलिया र बेलायत छन् । यता अमेरिका भने सातौँमा छ ।

फिलिप्सका अनुसार अमेरिका विश्वव्यापी र शक्तिशाली राष्ट्रहरु मध्येमा पहिलो नम्बरमा परेपनि पहिले जस्तो विश्वसनीय राष्ट्र नमानिएको बताए । यो रिपोर्ट सुरु भएदेखि पहिले भन्दा ५० प्रतिशतले अमेरिकाप्रतिको भरोसा कम भएको उनी बताउँछन् । सीएनएनबाट