Swornakshar Logo

‘चिनूक’ हेलिकोप्टरमार्फत कालापानी क्षेत्रमा मेसिन लगिदै

२७ मंसिर । काठमाडौं । नेपालमा सीमा अतिक्रमणबारे चर्चा र आक्रोश भइरहेको बेला भारतले हेलिकोप्टरबाट कालापानी क्षेत्रमा अत्याधुनिक र ठूलो आकारको ‘चिनूक’ मेसिन र सामग्री ढुवानी गरिरहेको छ ।

अतिक्रमित नेपाली भूमिमा भारतीय सेनाले सडक निर्माण गरिरहेको भएर ठूला मेसिन र निर्माणका सामग्री हेलिकोप्टरबाट ढुवानी भइरहेका छन् । पिथौरागढ जिल्ला मुख्यालयमा रहेको नैनीसैनी हवाई मैदानदेखि अतिक्रमित नेपाली भूमि गुञ्जीसम्म ठूल्ठूला मेसिन र सामग्री ढुवानी भइरहेका छन् ।

चिनूक हेलिकोप्टरमार्फत तीन हप्ता पहिले पनि ठूला मेसिन गुञ्जी र कालापानी क्षेत्रमा ढुवानी गरिएका थिए । गएको सोमबार पिथौरागढको आकाशमा ‘चिनूक’ हेलिकोप्टरले धेरैपटक चक्कर लगाएको खबर भारतीय पत्रिका ‘हिन्दुस्तान’ दैनिकले सार्वजनिक गरेको छ । भारतीय वायुसेनाको चिनूक हेलिकोप्टर धेरै दिनदेखि पिथौरागढको नैनीसैनी हवाई मैदानमा राखिँदै आएको ‘हिन्दुस्तान’ दैनिकले लेखेको छ । वायुसेनाको ‘हेभी लिफ्टर’ भनिएको चिनूक हेलिकोप्टरको आकार झण्डै एआरटी ७२ विमान जत्तिकै छ ।

व्यास गाउँपालिका ४ सुन्सेराको स्थानीय पत्रकार मान सिंह कुँवरका अनुसार मंसिर पहिलो हप्ता पनि छतमा दुइटा पंखा भएको ठूलो हेलिकोप्टरले गुञ्जीसम्मको क्षेत्रमा चक्कर लगाएको बताए । ‘हेलिकोप्टरको छतमै दुइटा पंखा थिए, ठूलो आवाज आइरहेको थियो, हेलिकोप्टरको तलतिर गाडी जस्तै मेसिन झुण्डिएको थियो’, पत्रकार कुवरले भने ।

३, ४ दिनसम्म दैनिक धेरैपटक उक्त हेलिकोप्टरले यस्ता मेसिन बोकेको उनले बताए । गएको अक्टुबर २५ तारिखमा पनि चिनूक हेलिकोप्टरले पिथौरागढको आकाशमा चक्कर लगाएको थियो । नोभेम्बर महिनाको पहिलो हप्तामा दार्चुलासँगै जोडिएको मुनस्यारी तहसिल क्षेत्रमा पनि ‘चिनूक’ हेलिकोप्टरले उडान भरेको थियो ।

भारत–चीनको सीमा क्षेत्रमा सैनिक सामग्री ढुवानीमा हेलिकोप्टरको प्रयोग भएको सैनिक सूत्रलाई उद्धृत गर्दै ‘हिन्दुस्तान’ दैनिकले समाचार छापेको छ । केही महिनाअघि मात्रै सञ्चालनमा आएको पिथौरागढको नैनीसैनी हवाई मैदान नेपाल र चीन सीमा नजिकको सामरिक दृष्टिकोणले महत्वपूर्ण मानिँदै आएको छ ।

नैनीसैनी हवाई मैदानमा ७२ सिटे सैनिक विमानको सफल अवतरणको अभ्यास भइसकेको छ । नैनीसैनी हवाई मैदानबाट देहरादून, पन्तनगर र दिल्ली नजिकको हिडनसम्मको हवाई सेवा सञ्चालन हुँदै आएको छ ।