Swornakshar Logo

भारतले भन्यो, हामीले नेपाली भूभाग मिचेका छैनौं

६ मंसिर । काठमाडौं । भारतले कसैको भूभाग अतिक्रमण नगरेको बताएको छ । नयाँ नक्सामा समावेश गरिएका भूभाग भारतकै भएको विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले दाबी गरेका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, हामीले कसैको भूभाग मिचेका छैनौं र यो कुरा स्पष्ट पनि छ ।

भारतले २ नोभेम्बरमा सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश छ । यी क्षेत्र समावेश गरी भारतले नक्सा सार्वजनिक गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ । यही साता प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्र नेपालको भएकाले भारतले आफ्ना सेना फिर्ता लानुपर्ने बताएका थिए ।

यसबारे पत्रकारको जिज्ञासामा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘हामीले यसअघि पनि भनिसकेका छौं कि नक्सामा भारतको सार्वभौम भूभागलाई सही ढंगले चित्रण गरिएको छ र नेपालसँगको सीमामा परिवर्तन गरिएको छैन ।

भारतसँग सीमा विवादबारे वार्ता गर्न विदेश सचिवस्तरीय संयन्त्रको बैठकका लागि औपचारिक पत्राचार सुरु भएको चर्चा नेपालमा छ ।