Swornakshar Logo

महराविरुद्ध अदालतमा मुद्दा दर्ता

१४ कार्तिक । काठमाडौं । पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महरामाथि जबरजस्ती करणी उद्योगमा जिल्ला अदालत काठमााडैंमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जबरजस्ती करणी प्रयासको आरोप लागेका महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

महराको मूल कसुर मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को जबरजस्ती करणीसम्बन्धि दफा आकर्षित हुने गरी मुद्दा दायर भएको छ । जसमा १८ वर्षमाथिको महिलालाई बलात्कार गरेमा ७ देखि १० वर्ष जेल सजाय हुने व्यवस्था छ । बलात्कार प्रयासको हकमा भने अधिकतम १० वर्षको आधा ५ वर्ष जेल सजाय माग गरिएको छ ।
त्यसमा थप फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १५ पनि आकिर्षत हुनेछ ।
दफा १५ ङ मा ‘ कुनै सरकारी कार्यालय वा सार्वजनिक वा सङ्गठित संस्थाको पद वा ओहोदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसूर गर्ने कसूरदारलाई त्यस्तो कसूरमा हुने सजायको डेढी सजाय,’ को व्यवस्था छ । आफ्नै सचिवालयमा कार्यरत महिलामाथि जवर्जस्ती करणी प्रयास गरेको अभियोग महरामाथि रहेकाले यो व्यवस्था पनि उल्लेख गरेर मुद्दा दर्ता भएको हो ।

महरामाथि ३६ पृष्ठको आरोपपत्र दायर भएको छ । आरोपपत्रमा ५ जना सुरक्षाकर्मीसहित संसद सचिवालयमा कार्यरत रोशनी शाहीको कोठामा महरा आफैले ‘रक्सीको बोत्तल’ बोकेर पुगेको उल्लेख गरिएको छ ।

‘राज्यको उच्च ओहोदामा पुगेका महराले कुनै हेक्का नराखी राज्य र आमनागरिक समेतका हकमा पर्ने असर समेतलाई ख्याल नगरी सोको संवेदनशीलताप्रति वेवास्ता गरी, केही सुरक्षाकर्मी मात्र लिई साँझ मादक पदार्थ सेवन गरी, साथमा रक्सी रहेको बोत्तल आफ्नो साथमा लिई, पीडित एक्लै रहेको निजको डेरामा गई निजलाई जबरजस्ती मादक पदार्थ सेवन गर्न कर लगाई गराई अनुचित प्रभावमा पारी पीडितलाई जबरजस्तीकरणी गर्न खोजेको’ आरोपपत्रमा उल्लेख गरिएको छ ।

दुई नेपाल प्रहरीका असई, एक जना नेपाली सेनाका जमदार, एक प्रहरी हवल्दार र एक सशस्त्र जवानसहित महरा रोशनीको तीनकुनेस्थित सुविधानगर कोठामा पुगेको आरोपपत्रमा उल्लेख छ ।

आरोपपत्रमा शाहीकी घरबेटीले बयान दिन इन्कार गरेको बताइएको छ । त्यस्तै पीडक र पीडित दुवैले मोबाइल सेट दिन इन्कार गरेको समेत उल्लेख छ ।

प्रहरी समक्ष आरोपित महराले रिसको झोकमा आफूले मोबाइल फुटाइदिएको बताएका छन् । यद्यपी आरोपितको हकमा मोबाइल सेट जफत गर्न सकिने कानुनी व्यवस्था छ ।

प्रहरीको बयानमा घटनास्थल नजिक पुगेको स्वीकार गरेपनि कोठामै भने नगएको बताएका छन् । घटनास्थलबाट प्रहरीले बरामद गरेको चस्मा र हाल महराले लगाइरहेको चस्माको पावर मिलेको छ ।

चस्माको पावर आरोपपत्रमा प्लस २.७५ भएको डी विस्फोकल रहेको उल्लेख छ ।

प्रहरीले मरहाको डीएनए परीक्षणको लागि अस्पताललाई पत्र पठाएपनि अस्पतालले स्याम्पल नपठाएको आरोपपत्रमा उल्लवेख गरिएको छ । बिहीबार आरोपपत्र दर्तापछि अरोपितको बयान भोलि ९शुक्रबार० मात्रै हुनेछ ।