Swornakshar Logo

‘ विप्लव समूह राष्ट्रघाती, राजनीतिक प्रतिशोध भए महरा किन पक्राउ पर्थे ?ःमन्त्री बास्कोटा

७ कार्तिक । काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह राष्ट्रघाती भएको बताए । उनले यथास्थितिमा विप्लव समुहसंग वार्ताको कुनै औचित्य नरहेको र वार्ता गरिहाल्ने सरकारको नीतिसमेत नरहेको प्रष्ट पारेका छन् ।

उनले विप्लव समूहले वार्ताको नाममा जाँतो घुमाएजस्तो प्रतिबन्ध फुकुवा, जेलमा रहेका नेता कार्यकर्ता रिहा हुनुपर्ने सर्त तेर्स्याएको भन्दै हिँसा नछाडेसम्म वार्ता नहुने र वार्ताको औचित्य पनि नरहने बताएका हुन् ।
मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उनले हिंसाको बलमा चन्दा सङ्कलन गरिरहेको बताउँदै विप्लवका गतिविधिले मुलुकको अहित गर्ने बताए ।

फरक प्रसंगमा बास्कोटाले चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणले नेपालमा चीनको प्रभावमात्रै नबढेको बरु नेपालको प्रभाव पनि अन्यत्र विस्तारित भएको बताए । “हामी कसैको दबाबमा परेका छैनौं । प्रभावमा पनि पर्दैनौँ । हाम्रा सम्बन्धहरू विस्तार गर्ने कुरा हो,” उनले भने ।

उनले नेपालले छिमेकी देश र अन्य मुलुकहरूसँग दौत्य सम्बन्ध स्थापित गरिरहेको बताउँदै सीको भ्रमण त्यसैको निरन्तरता भएको बताए । “प्रभाव होइन, इन्गेजमेन्टचाहिँ बढेको छ, पर्यटन, कनेक्टिभिटि, विकासका साझा आकांक्षा बढेको छ,” उनको भनाइ थियो ।

एक प्रसङ्गमा मन्त्री बास्कोटाले थुनामा रहेका सांसद मोहम्मद अफताव आलम राजनीतिक प्रतिशोधका आधारमा नभई अभियोगका आधारमा पक्राउ परेको दाबी गरे । उनले राजनीतिक प्रतिशोधकै आधारमा पक्राउ पर्ने भए निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ नै नपर्ने तर्क गरे ।

उनले कानुन, विधिको शासन कायम गराउन लागिपरेको बताउँदै राजनीतिमा अपराधीकरण र भ्रष्टीकरण हुन नदिने बताए । उनले सरकार राजनीतिक दृष्टिकोणका आधारमा नभर्इ कानुनी आधारमा चल्ने पनि प्रष्ट पारे ।

“अकूत भ्रष्टाचार, अपराध गरेर आर्जन गरेको राजनीतिक सफलता पानीको फोका हो,” उनले भने, “सुन तस्कार, अपराधी पक्राउ पर्दा राजनीतिक प्रतिशोध हुँदैन ।”

मन्त्री बास्कोटाले आज पक्राउ परेका गायक भिटेन भनिने समिर घिसिङले समाजमा विकृति, विसङ्गति फैलाएको आरोप लगाए । सर्जकको काम समाजलाई सभ्य बनाउने, संस्कृति बचाउने भएको भन्दै उनले घरपरिवारसँग बसेर सुन्नै, हेर्नै नमिल्ने गीत, सिर्जना बन्न थालेकाले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको तर्क गरे ।