Swornakshar Logo

रेल,सडक र नाका खुलाउने कुरामा मात्रै चीनसँगको सम्बन्ध सीमित छैनः नेपाल

५ असोज । काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपालको आर्थिक र सामाजिक प्रगतिमा सहयोग पुग्ने बताए ।
उनले भने रेल, सडक र नाका खुलाउने कुरामा मात्रै चीनसँगको सम्बन्ध सीमित छैन ।

मंगलबार मदन भण्डारी अध्ययन केन्द्रले राजधानीमा आयोजना गरेको ‘चिनियाँ राष्ट्रिपतिको नेपाल भ्रमणः एक परिचर्चा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सीको भ्रमणले नेपालको अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिष्ठा बढाएको बताए । ‘चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट कोही पनि आत्तिनु पर्दैन । यो भ्रमण देशहितमा छ’ नेपालले भने, ‘भ्रमणले नेपालको अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिष्ठा बढाएको छ ।’

सीको भ्रमण ऐतिहासिक र उपलब्धिमूलक भएको उल्लेख गर्दै नेता नेपालले विश्व अर्थतन्त्रमा उदयमान चीन र भारतको बीचमा रहेको नेपालले दुबै देशलाई समदूरीको आधारमा लाभ लिन सक्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विस्तार गर्न कुटनीतिक कौशलता आवश्यकता रहेको उल्लेख गर्दै नेता नेपालले त्यो कौशलता वर्तमान सरकारले देखाएको भन्दै प्रशंसासमेत गरे ।

नीतिहरुको सवालमा देशले एउटै नीति अपनाउनुपर्नेमा जोड दिँदै नेता नेपालले राज्य सबैसँग मित्रभावका साथ अघि बढिनुपर्ने र सो अनुरुप सरकार तथा नेकपा सकारात्मक ढंगले अघि बढेको बताए । सीले लुम्बिनीलगायत विभिन्न क्षेत्रको चर्चा गरेपछि नेपाल अन्तर्राष्ट्रिय जगतमा चासोको विषय बढेको नेता नेपालले टिप्पणी गरे ।

यस्तै, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सीको भ्रमणले मुलुकको आर्थिक तथा पूर्वाधार विकासको लागि साझेदारीको सम्भावना बढाएको टिप्पणी गरे । ‘भूपरिवेष्टित नेपाललाई भू–जडित बनाउने सम्भावना खुल्यो’, यादवले भने, ‘चिनियाँ लगानी बढ्ने र पर्यटन क्षेत्रको विकास हुने सम्भावना पनि बढेको छ ।’

यस्तै,पर्यटनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रपति सीको भ्रमणले पर्यटन क्षेत्रमा उत्साह जगाएको धारणा राखे । ‘नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा राष्ट्रपति सी नेपाल आउनु नै ठूलो कुरा हो’ उनले भने, ‘ भ्रमणबाट नेपालमा चिनियाँ पर्यटक बढ्ने समेत विश्वास लिएको छु ।’

यस्तै नेकपा नेता घनश्याम भुसालले सीको भ्रमण फलदायी भएको भन्दै नेपाललाई भू–परिवेष्टिबाट भूजडित बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले सीको भ्रमण गराएर राम्रो काम गरेको भन्दै सरकारको तारिफ समेत गरे ।