Swornakshar Logo

रहेनन् पहिलो पटक अन्तरिक्षमा हिँडेर इतिहास रच्ने लियोनोव

२५ असोज । काठमाडौं । एलेक्सी लियोनोवले सन् १९६५ मा पहिलो पटक अन्तरिक्षमा हिँडेर इतिहास रचेका थिए । अन्तरिक्ष यात्री एलेक्सी लियोनोवको ८५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

लियोनोव लामो समयदेखि बिरामी रहेका थिए । उन्को उपचारका क्रममा मस्को अस्पतालमा निधन भएको हो ।

लियोनोवको निधनले पुरै ग्रहका लागि क्षति भएको रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेंकोले बताएका छन् । त्यस्तै राष्ट्रपति भ्लादिमिर पुटिनले लियोनोवको साहसले सबैलाई प्रेरणा दिएको बताएका छन् ।

एलेक्सी लियोनोव आफ्नो अन्तरिक्ष यानबाट बाहिर निक्लेर १६ फिट लामो केबलको सहयोगमा १२ मिनेटसम्म हिँडेका थिए । सन् २०१२ मा लियोनोवले बीबीसीसँग भेनका थिए, ‘तपाईँ यसलाई शब्दमा वर्णन गर्नै सक्नुहुन्न । बाहिर निस्केर केवल महसुस गर्न सकिन्छ कि हाम्रो चारैतर्फ कति विशाल संसार छ ।

तर अन्तरिक्ष यानबाट बाहिर निस्कनु लियोनोवका लागि ज्यान जोखिममा पार्नु नै सावित भयो । उनको स्पेससुट नराम्रोसँग क्षतिग्रस्त भएको थियो । उनलाई अन्तरिक्ष यानमा फर्कन निकै मेहनत गर्नु परेको थियो ।

लियोनोवको जन्म साइबेरियामा भएको थियो । उनका बुवा स्टालिनको दमनका सिकार बनेका थिए । सन् १९४८ मा उनको परिवार पश्चिमी रुसमा बसाइँ सरेको थियो । एअरफोर्सको पाइलटका रुपमा सन् १९६० मा लियोनोवलाई अन्तरिक्ष यात्रीको प्रशिक्षणका लागि छनोट गरिएको थियो । उनले यूरी गागरिनसँग प्रशिक्षण लिने मौका पाए, गागरिन अन्तरिक्षमा जाने पहिलो व्यक्ति हुन् ।

लियोनोवलाई हिरो अफ् सोभियत युनियन’ को मेडलबाट दुई पटक सम्मानित गरिएको थियो ।