Swornakshar Logo

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देशः प्रधानमन्त्री ओली

१३ असोज । काठमाडौं । दक्षिण एसियाकै खुला दिसामुक्त देशहरुमा नेपाल पहिलो खुला दिसामुक्त देश घोषित भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा सोमबार विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त देश घोषणा गरेका हुन् ।

त्यति मात्र नभइ नेपालको पूर्ण सरसफाइसम्बन्धी महत्त्वपूर्ण राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत पूरा भएको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्रीको भनाइ अनुसार यस घोषणाबाट मानिस निरोगी हुने, स्वास्थ्योपचारमा हुने खर्च घट्ने, संक्रमण कम हुने, मृत्युदर कम हुने र सरदर आयु वृद्धि हुने छ । हामी जनताप्रति उत्तरदायी हुन्छौं र स्वच्छ सफा नेपाल बनाउछौं ।

त्यसै क्रममा खानेपानीमन्त्री बिना मगरले नेपाल आधारभूतरुपमा सरफाइमा अघि बढेको भन्दै नेपालमा ५६ लाख चर्पी निर्माण भएको तथ्याङ्क पेश गरिन् । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले उक्त घोषणा नेपालको सफलता भएकाले अब पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो प्रदेशमा पक्की शौचालय र पर्याप्त पानीको धारा नभएको तथा राउटेहरु घुमन्ते भएकाले उनीहरुलाई स्थायी शौचालय दिन नसकिने बताए ।

नेपाल सरसफाइमा अघि बढे पनि स्वास्थ्य क्षेत्रमा अझै पछि परेको र काम गर्न बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एकताबद्ध भएर योजनाको लागु गर्न सके कठिन लक्ष्य पनि पूरा गर्न सकिन्छ भन्ने बताए ।

प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनालले ऐतिहासिक सफलता प्राप्त गरेको जनाउँदै यो समग्र नेपाली प्रतिष्ठा, सभ्यता र सम्मानसँग जोडिएको विषय भएको बताए ।

२०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको थियो ।