Swornakshar Logo

चाडपर्व नजिकिएसँगै मासुको मूल्य आकाशियो

चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महीनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको हो । चार\पाँच महीनाअघिसम्म खसीको मासु प्रतिकिलो रु ७०० रहेकामा आयात रोकिनेबित्तिकै मासु बढ्दै गएको हो । अहिले बजारमा खसीको मासुको मूल्य प्रतिकेजी रु ८०० नाघेको छ ।

“एकातिर भारतबाट आउने खसीको आयतमा प्रतिबन्ध छ भने अर्कोतिर चाडबाड नजिकिँदै गएपछि बजारमा खसीको मासुको माग बढ्न थालेको छ”, नेपालगञ्ज रामबागको मासु बधशालामा मासु व्यवसाय गर्दै आउनुभएका मासु व्यवसायी सगदिक कुरेसीले बताए, “पर्व नजिकिएकाले मासुको मूल्य अझै बढ्न सक्ने सम्भावना रहेको छ ।”

भारतबाट सहजै आयात हुँदा प्रशस्त मात्रामा सस्तो मूल्यमा खसी पाइने भएकाले मासुको मूल्य कम थियो । अहिले भारतबाट आयतमा रोक लाग्नु र मासुको माग धान्ने आन्तरिक उपलब्धता नहुँदा मासुको मूल्यवृद्धि हुँदै गएको हो । दुई वर्षअघिसम्म किलोको ६५० मा पाइने मासुको मूल्य ८०० पुग्दा ग्राहक मर्कामा परेका छन् । “नेपालमा बजारको माग धान्ने खसी उपलब्ध छैनन्, पाइए पनि जिउँदो खसी भारतमा भन्दा महङ्गो छ”, मासु व्यवसायी कुरेसीले बताए, “महङ्गो खरीद गर्नुपर्दा बिक्री मूल्य पनि बढेको हो ।” भारतबाट आयात असहज भएपछि सीमावर्ती जिल्लामा खसी तस्करी पनि हुने गरेको छ ।

पछिल्ला दिनमा प्रहरीले पटक–पटक भन्सार छलेर ल्याइएका खसी नियन्त्रणमा लिएर नेपालगञ्ज भन्सार कार्यालयमा बुझाउने गरेको छ । खसी भन्सार छलेर आउँदा राजश्व पनि नोक्सान भइरहेको छ । अहिले नेपालगञ्जमा दुब्लो–पातलो खसीको जिउँदो मूल्य प्रतिकेजी रु ५८०, मध्यमखालको रु ६०० र राम्रो स्वस्थ खसीको जिउँदो मूल्य रु ६५० सम्म छ । दशैँको समयमा नेपालगञ्जमा मात्र १० हजारसम्म खसीको माग हुने बताइन्छ ।

मासु व्यवसायी हनिफ कुरेसीले भारतबाट खसीबोका नआए मूल्य अझै आकाशिने बताए । उनका अनुसार, अहिले गैरकानूनी बाटोबाट केही मात्रामा खसी भित्रिरहेका छन् ।