Swornakshar Logo

चिनियाँ ह्याकरले गरे एटीएम चोरी

१५ भदौ । काठमाडौं । शनिबार राजधानीको दरबारमार्गस्थित नबिल बैंकको एटीएम बुथमा एक व्यक्तिले शंकास्पद गतिविधि गरिरहेको र अस्वभाविक रुपमा पैसा झिकिरहेको भन्ने सूचना प्रहरीसम्म पुग्यो । सुचना पाएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र वोगटीको नेतृत्वमा खटिएको विशेष टोलीले दरवारमार्ग स्थित नविल बैंकको एटीमएवाट पैसा झिकिरहेको बेला १ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिन्छ ।

उनको साथवाट २० थान नक्कली भिषा कार्ड फेला परेको बताइएको छ । सोधपुछको क्रममा हात्तिसारस्थित माया मनोहर वुटिकमा उनी आफ्नो साथीहरुसंग बस्दै आएको खुलासा भएको छ । थप जानकारीका साथ प्रहरी माया मनोहर वुटिकमा पुगेर कोठा न २०१ , ६०२ र ६०४ मा खान तलासी गर्ने क्रममा थप तीन जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले बताएको छ ।

प्रहरीले उनीहरुको साथबाट १३२ थान नक्कली भिषा कार्ड, १७ थान सक्कली भिसा कार्यसमेत बरामद भएको बताएको छ ।

यसैगरी उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, अमेरिकन डलर ९ हजार १ सय ८, चाईनिज मुद्रा ११ सय ९१ , युरो २ सय ५०, कम्वोडियन मुद्रा ५ हजार र हङकङ डलर ८० बरामद गरेको प्रहरीले बताएको छ ।

उनीहरु सबै नेपालमा नक्कली एटीएम र पिन प्रयोग गरेर पैसा निकाल्नकै लागि शुक्रबार मात्रै काठमाण्डौ आएका थिए ।