Swornakshar Logo

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश मन्त्री जयशंकरको शिष्टाचार भेटवार्ता

४ भदौ । काठमाण्डौ । भारतीय विदेश मन्त्री सुब्रमण्यम जयशंकर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै काठमाण्डौ आएका भारतीय विदेश मन्त्री जयंशकरले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन ।

भेटवार्ताका क्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत उपस्थित थिए ।

संयुक्त आयोगको बैठकमा बुधबार नेपाल भारत दुईपक्षीय सहयोग आदान प्रदानको साथै विभिन्न एजेण्डामा सहमति सहित हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । विदेश मन्त्री जयशंकरको सम्मानमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बुधबार साँझ रात्रीभोजको आयोजना गरेका छन् ।

उनी शुक्रबार बिहान साढे १० बजे राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने र अपरान्ह साढे ३ बजे दिल्ली फर्कने कार्यक्रम छ । विदेश मन्त्री जयशंकरको यो भ्रमण विदेश मन्त्री भएपछिको पहिलो नेपाल भ्रमण हो ।