Swornakshar Logo

काश्मीरी नेतालाई दिल्लीमा पक्राउ गरी फर्काइयो

३० साउन । काठमाडौं । काश्मीरका नेता शाह फैसललाई भारतको राजधानी दिल्लीबाट पक्राउ गरी पुनः काश्मीर पठाइएको छ ।

उनी दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । निकै ख्यातिप्राप्त कर्मचारीबाट नेता बनेका फैसललाई काश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा समाप्त पार्ने निर्णयपूर्व पक्राउ गरिएको थिएन ।

मंगलबार बीबीसीको ‘हार्ड टक’ कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले दिनदहाडै संविधानको हत्या गरिदिएको बताएका थिए । भारत सरकारले भने संविधानको प्रावधान अनुरुप नै कदम चालेको बताउँदै आएको छ।

समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाले उनी टर्की जानका लागि विमान चढ्न लागेका बेला पक्राउ परेको जनाएको छ । भारत नियन्त्रित कश्मीरमा उनलाई कहाँ राखिएको छ भन्ने स्पष्ट छैन।

केही स्थानीय सञ्चार माध्यामहरुले भने उनलाई आफ्नै निवासमा नजरबन्द गरिएको बताएका छन्। यद्यपि सो सूचना पुष्टि भएको छैन ।

सन् २००९ मा भारतको सरकारी जागिरका लागि भएको परीक्षामा प्रथम हुने उनी पहिलो कश्मीरी थिए। सो परीक्षा निकै कठिन हुने बताइन्छ । गत जनवरीमा उनले सरकारी सेवाबाट राजीनामा दिएर आफ्नै राजनीतिक दल गठन गरेका थिए।