Swornakshar Logo

उपनिर्वाचनको तयारी सुरु

१६ साउन । काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन गर्ने तयारी सुरु गरेको छ । बुधबार सर्वदलीय बैठकमा आयोगले निर्वाचनको प्रक्रिया र मिति तोक्ने विषयमा दलहरुसँग छलफल गरेको छ । विभिन्न ५० स्थानमा गर्नुपर्ने उपनिर्वाचनबारे दलका प्रतिनिधिले आयोगलाई विभिन्न सुझाव दिएका छन् ।

बुधबार आयोगमा भएको बैठकमा दलहरुले आगामी मंसिरमा निर्वाचन गर्न सुझाएका छन् । निर्वाचनको मिति सरकारले तोक्ने वा आयोगले तोक्ने भन्ने विषयमा पहिले नै स्पष्ट हुन पनि दलका प्रतिनिधिले आग्रह गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रतिनिधि बाबुराम दाहालले निर्वाचनको मिति सरकार वा आयोग कसले तोक्ने भन्ने विषयमा प्रस्ट हुनुपर्ने बताए ।

कांग्रेसका प्रतिनिधि रमेश लेखकले उपनिर्वाचनमा पहिला संघको निर्वाचन गर्न सुझाव दिए ।

अन्य दलका प्रतिनिधिले आचारसंहिता उल्लंघन हुँदा आयोग निरीह भएर बस्न नहुनेमा जोड दिए ।

साना दलका प्रतिनिधिले अहिलेको निर्वाचनमा तोकिएको खर्चको सीमा घटाउन आग्रह गरे । उनीहरुले सरकारको छायाजस्तो नबन्न आयोगको ध्यानाकर्षण पनि गराए ।

छलफलमा सहभागी सबै राजनीतिक दलका प्रतिनिधिले विदेशमा भएका नागरिकलाई मतदान गर्ने वातावरण बनाउन सुझाव दिए ।