Swornakshar Logo

काम गर्न सकिनँ भने पदबाट राजीनामा दिन्छुः मन्त्री भट्टराई

१६ साउन काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले बुधबार मन्त्री पदमा नियुक्त भएका भट्टराईले बिहीबार सञ्चारकर्मीमाझ आफूले काम गर्न नसक्ने महसुस हुनासाथ पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

बिहीबार काठमाडौंको बल्खुस्थित तत्कालीन एमालेको केन्द्रीय कार्यालय परिसरमा माल्यार्पण गरेपछि उनले प्रधानमन्त्रीसँग करार सम्झौता गर्न नपाएको उल्लेख गर्दै काम गर्न असफल भएको महसुस हुनासाथ पद त्याग गर्ने बताएका छन् ।

‘मेरो सबैभन्दा ठूलो करार सम्झौता त्यही हुनेछ, जुन दिन मैले काम गर्न सकिनँ अथवा म असफल भएँ भन्ने महसुस प्रधानमन्त्रीलाई हुन्छ, त्यो दिन म मन्त्री पदबाट हट्नेछु ।’

मन्त्री भट्टराईले सरकारले ल्याएको ‘सुखी नेपालीः समृद्ध नेपाली’ को नारालाई पूरा गर्न लागिपर्ने र ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपाललाई विश्वकै आकर्षक पर्यटक गन्तव्यका रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको पनि बताए ।

भट्टराईले केही दिनभित्र आफ्नो कार्ययोजना सञ्चार माध्यममार्फत् सार्वजनिक गर्ने पनि बताए । उनले आफूले जिम्मेवारी पाएको मन्त्रालयको काम कारबाही र त्यसका विवादास्पद कतिपय विषयबारे केही दिनभित्रै आफ्नो धारणा सार्वजनिक गर्ने पनि बताए ।