Swornakshar Logo

कुमार पौडेल हत्या प्रकरणमा मानवअधिकारकर्मीहरु भन्छन्– कथित मुठभेड

१५ साउन । जनकपुर । सर्लाहीमा प्रहरीद्धारा मारिएका कुमार पौडेलको दोहोरो भिडन्त नभएको गैरन्यायीक हत्या भएको प्रतिवेदन विभिन्न मानवअधिकारवादी संघ–संस्थाले सार्वजनिक गरेका छन् ।

आधा दर्जन मानवअधिकार संघ–संस्थाले बुधबार जनकपुरमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रहरीले दावी गर्दै आएको दोहोरो भिडन्तलाई गलत र झुठो ठहर गर्दै गैरन्यायिक हत्या भनेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, एडभोकेसी फोरम नेपाल, तराई मानवअधिकार रक्षक सञ्जाल, महिला मानवअधिकार रक्षक सञ्जाल, नेपाल मानवअधिकार संगठन र उन्नत नेपालले संयुक्त रुपमा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

प्रतिवेदनमा मुठभेडको नाममा प्रहरीले जथाभावी हत्या गर्दै आएको भन्दै मानवअधिकारकर्मीहरुले ५ बुँदे माग अघि सार्दै उच्चस्तरीय संसदीय समिति गठन गर्न सुझाव दिइएको छ । कुमार पौडेल हत्या घटनाको न्यायिक छानविन गर्न उच्चस्तरीय संसदीय समिति गठन गरी सत्य–तथ्य उजागर, घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा दण्डहिनताको अन्त्य गर्न नेपालको संविधान, कानुन तथा नेपाल सरकारको अन्तर्राष्ट्रिय प्रतिवद्धताको स्मरण गराउँदै सोको परिपालनमा गम्भिरता अपनाउन उनीहरुले सरकारलाई सुझाव दिएका छन् ।

उनीहरुले कथित मुठभेडका नाममा व्यक्ति हत्या जस्तो जघन्य अपराधमा संलग्न संस्था वा व्यक्तिलाई उत्तरदायी बनाउन तथा कानुनी दायरमा ल्याउन र राष्ट्रिय मानवअधिकार आयोगले घटनाका सम्बन्धमा गरेको अनुसन्धान तथा अनुगमन प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि माग गरेका छन् ।

कार्यक्रममा एड्भोकेसी फोरमका प्रदेश संयोजक राजकुमार महासेठले नेपालको संविधानको धारा ३ मा बाँच्न पाउने हक र कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन भनि उल्लेख गरिएपनि सोको उल्लंघन भएको बताए ।

प्रहरीले दोहोरो भिडन्तमा सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको दावी गर्दै आएपनि यसको विश्वसनीय आधार पाउन नसकिएको भन्दै घटनाको अनुगमन तथा तथ्य संकलनमा गएको टोलीले देखेको घटनास्थलको अवस्था,प्रकृति,घटनास्थलमा खिचिएको फोटोहरु,जिल्ला अस्पतालमा राखिएको मृतकको शवको अवलोकन, शव पोष्टमार्टम गर्ने डाक्टरको भनाई, मृतकको परिवार र आफन्तको भर्ना, स्थानीय व्यक्तिहरुको कथनअनुसार घटना भएको दिन स्थानीयवासीलाई विहानैदेखि घटनास्थलमा आवतजावत रोक लगाइनु, स्थानीय प्रहरीलाई घटनाबारे जानकारी नहुनु, स्थानीयवासीले दोहोरो गोली हानाहानको आवाज नसुन्नु जस्ताले गर्दा कुमार पौडेलको दोहोरो भिडन्तमा मृत्यु भएको भन्न नसकिने इन्सेकका प्रदेश नम्बर २ संयोजक राजु पासवानले बताए ।

मानवअधिकारवादी संस्थाले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विगतमा केहि वर्षदेखि कथित मुठभेडका नाममा व्यक्तिहत्याको श्रृंखला बढेको छ । घटना भएको केहि समयसम्म यसका विरुद्ध सार्वजनिक रुप्मा आवाथ उठ्ने गरेपनि क्रमशः यस्ता आवाज मत्थर हुँदै जाने गरेको र यस्ता घटनाको पुनरावृत्ति हुने गरेको उल्लेख छ । ‘जस्तोसुकै अपराधमा संलग्न भएपनि उ अपराधी हो वा होइन भनेर छुट्याउने काम अदालतको हो । कुनै पनि बहानामा गरिने कथित मुठभेडको औचित्य पुष्टि हुन सक्दैन’ प्रतिवेदनमा उल्लेख छ ।