Swornakshar Logo

नारायणकाजी र ईश्वर पोखरेल जुध्दा विकल्पको खोजि ओली–प्रचण्ड

८ साउन । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा को स्कुल विभागमा दुई नेताहरुबीच खटपट भएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल मध्यमार्गी बाटोको खोजिमा छन् ।

नेकपाका शक्तिशाली विभागमध्ये स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेल ले दाबी गरेका छन् । दुबै नेताले विभागको जिम्मेवारी आफूले पाउनु पर्ने बताएपछि कसलाई दिने भन्ने दोधार भएको छ ।

असारमा सक्ने भनेको एकताको काम साउनसम्म सक्ने नेताहरु बताइरहेका छन् । एकताको काम ढीलोसुस्ति हुनुमा पछिल्लो समयमा स्कुल विभाग नै रहेको नेताहरु बताउँछन् ।

अहिले नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड यो विभागका कारण एकताको समय लम्बिनु भन्दा मध्यमार्गी बाटो खोज्न लागेको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले स्कुल विभागको जिम्मेवारी लिन झलनाथ खनाललाई प्रस्ताव गरेको खनाल निकट एक नेताले जानकारी दिए । खनालले भने प्रचण्डलाई आफू अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको नै जिम्मा लिन तयार रहेको बताएका ती सदस्यले बताए ।

दुबै नेताहरुले आ–आफ्नो अडान नछोडेपछि विकल्पको रुपमा खनाललाई अगाडि ल्याउने सोचमा अध्यक्षद्धय रहेको नेकपाको उच्च स्रोत बताउछ । नेकपामा ३२ वटा विभाग छन् । जसमा तत्कालीन एमालेको भागमा १८ र माओवादी केन्द्रको भागमा १४ वटा विभाग परेका छन् ।

जसमा संगठन विभाग, स्कुल विभाग लगायतका विभागहरु शक्तिशाली रुपमा लिइन्छन् । संगठन विभाग सचिवालय सदस्य वामदेव गौतमले पाउने भएका छन् ।

स्कुल विभागमा विवाद बढेपछि अहिले खनाललाई जिम्मा दिएर पोखरेल र श्रेष्ठलाई अन्य विभागको जिम्मा दिने गरी तयारीमा जुटेका प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यदले बताए ।

केहि दिन पहिले प्रचण्ड निवास खुमलटारमा तत्कालीन माओवादी नेताहरु बसेर पोखरेललाई स्कुल विभागको जिम्मा कुनै पनि अवस्थामा दिनुहुन्न भन्ने निस्कर्षमा पुगेका थिए ।

खनाल प्रधानमन्त्री, पार्टीको अध्यक्ष र पार्टी महासचिव समेत बनिसकेका छन् । उनलाई नेकपामा वैचारिक नेताको रुपमा लिइन्छ । अध्यक्षद्वयले ल्याएको मध्यमार्गी बाटोमा सहमति भएमा खनाल स्कुल विभाग प्रमुख हुनेछन् ।

खनालले रोजेको अध्ययन अनुसन्धान प्रतिष्ठानको जिम्मा पोखरेलले पाउने सम्भावना रहन्छ । श्रेष्ठ भने पुरानै प्रचारप्रसार विभागको जिम्मेवारीमा निरन्तरता पाउने छन् ।