Swornakshar Logo

विप्लव नेतृत्वको नेकपाका नेता माइला लामा नख्खु जेल चलान

७ साउन । काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो तथा उपत्यका ब्यूरो इन्चार्ज माइला लामा जेल चलान भएका छन् ।

प्रहरीले उनलाई शनिवार मध्यराति पक्राउ गरेर आज ललितपुर जिल्ला अदालतमा पेश गरेको थियो । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।

हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत लगिएका लामालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो ।

काठमाडौंको गोठाटारबाट राति साढे १२ बजे लामालाई पक्राउ गरिएको थियो । उनलाई नख्खुस्थित एनसेल टावरमा विष्फोट गराएको, उपत्यका विभिन्न स्थानमा बम विष्फोट गराएको अभियोगमा मुद्धा लगाएको छ ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि लामालाई नख्खु कारागारमा लगिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बताए ।
यसअघि पक्राउ परेका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली पनि नख्खु जेलमै छन् ।