Swornakshar Logo

हँसियाले काटेर बाबुको हत्या, आमा गम्भीर घाइते

६ साउन । कैलाली । बा आमा ईश्वर समान हुन् । ९ महिनासम्म कोखमा राखेर जन्मदिने आमा भन्दा श्रद्धाको पात्र अरु केही हुन सक्दैन ।

तर कैलालीका एक व्यक्तिले भने घाँस काट्न प्रयोग हुने हसिँया प्रहार गरी बाबुको हत्या गरेका छन् भने आमालाई गम्भीर घाइते बनाएका छन् ।

आइतवार रातीको करिब १२ बजेतिर घोडाघोडी नगरपालिका ११ सिसैयाका ५५ वर्षीय उदय रावतले आफ्नै बुबाआमालाई धारिलो हतियार प्रहार गरे । हतियार प्रहारबाट बाबुको घटनास्थलमै मृत्यु भयो र आमा गम्भीर घाइते भइन्।

७५ वर्षीय बृद्ध काल्चे रावतले आफैले जन्माएको छोराले प्रहार गरेको धारिलो हतियारबाट ज्यान गुमाए । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार छोराको प्रहारबाट आमा नन्दे रावत गम्भीर घाइते भएकी छन् ।

घरायसी विवाद भएपछि उदयले बाबुलाई हसिँया प्रहार गरेको र
बाबुलाई जोगाउन गएकी आमालाई समेत सोही हतियारले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए । आमाको वाँकेको कोहलपुरमा उपचार भइरहेको छ ।

आक्रमणबाट काल्चेको घटनास्थलममै मृत्यु भएको र बुबाआमालाई हसिँया प्रहार गरी फरार भएका उदयलाई आइतबार राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।