Swornakshar Logo

महोत्तरीमा पिकअप भ्यान दुर्घटना हुदा २८ भारतीय नागरिक घाइते

६ साउन । महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेको ना ४ च १०९९ नम्बरको पिकअप भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी २८ भारतीय नागरिक घाइते भएका छन् । साउने सोमबारको अवसरमा लागेको मेलामा मन्दिरको दर्शन गरेर फर्कने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् ।

टुटेश्वर मन्दिरबाट बर्दिवास आउने क्रममा पूर्व–पश्चिम राजमार्गको वनक्षेत्रमा भारतीय यात्रु चढेको भ्यान सोमबार दिउँसो पल्टेको हो । घाइते यात्रुको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले बताएका छन् ।

घाइते सबै महोत्तरीकै सीमासँग जोडिएको भारतीय जिल्ला सीतामढीको सुरसण्ड प्रखण्डमा पर्ने बघारी गाउँका भएको प्रहरीले बताएका छन् । सोमबारे मेलामा सिन्धुली जिल्लाको लङ्गुरखोलास्थित दूधेश्वरनाथ महादेवको दर्शन गरेर भारतीय भक्तजन टुटेश्वर पुगेका थिए । सामान ओसार्ने पिकअपमा क्षमताभन्दा बढी यात्रु राखेर फर्किएको सो गाडी पूर्व–पश्चिम राजमार्ग नपुग्दै वनक्षेत्रमा पल्टेको प्रहरीले बताएको छ ।

गाडी पल्टनेबित्तिकै चालक फरार भएका थिए । सहचालक सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोरका ३० वर्षीय वीरेन्द्रसिंह घाइते भएका छन् । घाइते तीर्थयात्रीमा १० वर्षीया बालिका काजलकुमारीसहित ११ महिला छन् । घाइतेमध्ये सातको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन ।