Swornakshar Logo

केन्द्रीय सदस्य त्याग्छु तर जिल्ला इन्चार्ज हुदैनःखगराज भट्ट

५ साउन । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएलगत्तै सो निर्णय विवादमा परेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेकपालाई पूर्णता दिने क्रममा विवाद भएपछि सचिवालयले एउटै जिल्लामा १० जनासम्म सहसंयोजक तोकेर मिलाउने प्रयास गरेपनि डडेल्धुराका जिल्ला इन्चार्जले पद अस्वीकार गरेका छन् ।

डडेलधुरा जिल्ला इन्चार्ज तोकिएका नेकपाका नेता खगराज भट्टले जिम्मेवारी अस्वीकार गरेका छन् । उनले आफुलाई अपमान गरिएको भन्दै इन्चार्ज पद अस्वीकार गरेको बताए ।

‘मलाई अपमानित ढंगले इन्चार्जको जिम्मेवारी तोकिएको छ, म यो जिम्मेवारी अस्वीकार गर्छु, म केन्द्रीय सदस्य त्याग्न तयार छु तर जिल्ला इन्चार्ज हुदैन ।’ भट्टले भने ।

पार्टीको प्रदेश कमिटी एकताकै बेला आफुलाई प्रदेश सहइन्चार्ज या प्रदेश अध्यक्ष मध्ये एक पद दिनुपर्ने अडानमा रहेका भट्टले त्यसवेला पनि पद पाएनन् ।

अध्यक्ष तत्कालीन एमालेका नेता कर्ण थापा र सहइन्चार्जमा तत्कालीन माओवादी तर्फका नेता लक्ष्मी जोशी चयन भएपछि नै उनी रुष्ट थिए ।

नेकपा सचिवालयले आज केन्द्रीय सदस्यको जिम्मेवारी र ७७ जिल्ला तथा ६ वटा महानगरपालिकाको इन्चार्ज र सह इन्चार्ज टुंगो लगाएपछि सुदुरपश्चिमका तत्कालीन माओवादीको प्रभावशाली मानिने नेता भट्ट आक्रोसित बनेका हुन् ।

डडेलधुराका नेता भट्टले यसअघि भएका तीनवटा निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पराजय व्यहोरिसकेका छन् ।नेकपाको सचिवालयले बिवाद साम्य पार्न एउटा जिल्लामा १० जनासम्म सह इन्चार्ज तोकेको छ ।

सचिवालयले सिराहामा १० जना, दाङ, काठमाडौं र धनुषामा ९ ९ जना सहइन्चार्ज तोकेको छ भने दाङमा सात जना सह इन्चार्ज तोकिएका छन् ।

तर जिल्लाका हैसियत पाएका ६ वटा महानगरपालिका र १५ वटा जिल्लाले भने सहइन्चार्ज नै पाएका छैनन् ।

सह इन्चार्ज नपाउने जिल्लामा ताप्लेजुङ, इलाम, धनकुटा, सप्तरी, नुवाकोट, काभ्रे, मुस्ताङ, म्याग्दी, नवलपरासी पश्चिम, गुल्मी प्युठान, हुम्ला, डोल्पा र दार्चुला छन् ।

एकता प्रक्रियालाई पूर्णता दिन आजै बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यबिभाजन र ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको थियो ।