Swornakshar Logo

पार्टीभित्र पद, पावर र पैसाको मोह देखियोः नेकपा प्रवक्ता श्रेष्ठ

४ साउन । गोरखा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र पद, पावर र पैसाको पछि लाग्ने प्रवृत्ति बढ्दै गएको बताए ।

गृहजिल्ला गोरखामा पुराना कम्युनिष्ट नेता श्रीनाथ अधिकारीको स्मृति सभामा बोल्दै उनले पार्टीभित्र वैचारिक र सांस्कृतिक बहस जरुरी रहेको बताएका छन् । चरम व्यक्तिवाद हावी हुँदै जाँदा पार्टीको आन्तरिक स्वच्छता कमजोर हुँदै गएको उनको बुझाइ थियो ।

कम्युनिष्ट पार्टीभित्र दुईवटा विकृति हावी हुँदै गएको भन्दै नेकपा प्रवक्ता श्रेष्ठले पद, शक्ति र पैसाका लागि जे पनि गर्ने संस्कार विकसित हुँदै गएको बताए । ‘कम्युनिष्ट आन्दोलनमा दुईवटा विकृति झाँगिएको छ, पद्धतिका हिसाबले जनवादी केन्द्रीयताको अभ्यास हुँदैन, चरम व्यक्तिवाद छ, स्वच्छताको हिसाबले स्वच्छता कमजोर हुँदै गएको छ, चरम भ्रष्टीकरण छ।’

उनले भने ‘विकासका कुरा गर्दा पीपीपी हुन्छ, पब्लिक प्राइभेट पार्टनरशिप । अहिले हाम्रो कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीमा पीपीपी अर्को रुपमा लागू हुन थालेको छ, पोस्ट, पावर र प्रपर्टी, यो तीनवटाको निम्ति जे पनि गर्ने ।’

कम्युनिष्ट पार्टीभित्र वैचारिक र सांस्कृतिक रुपान्तरण जरुरी रहेको भन्दै उनले वैचारिक, सांस्कृतिक समस्या हल नगर्ने हो भने तात्कालिक र रणनीतिक दुवै लक्ष्य पूरा हुन नसक्ने उनको भनार्इ छ ।

पुँजीवादी संसदीय व्यवस्था वा शान्तिपूर्ण प्रतिस्पर्धात्मक संसदीय अभ्यासमध्ये एउटा छनौट गर्नुपर्ने अहिलेको अवस्था रहेको भन्दै उनले तत्कालका लागि भने शान्तिपूर्ण प्रतिस्पर्धात्मक बाटोलाई अंगाल्नु गर्नुपर्ने बताए । वैचारिक रुपमा स्पष्ट नहुने हो भने कम्युनिष्ट पार्टीहरु पनि कांग्रेसकै बाटोमा जान सक्ने नेकपा प्रवक्ता श्रेष्ठको भनाइ छ ।

‘हाम्रो पार्टी र हाम्रो आन्दोलनलाई ठूलो दाई काग्रेस बनाउन खोजेको हो कि, शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन खोजेको हो स्पष्ट हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘हामी कम्युनिष्ट पार्टीलाई, क्रान्त्किारी पार्टीका रुपमा जनताले जिताएर झण्डै दुई तिहाइ नजिकको मत दिएर सरकारमा पुर्‍याएका हुन्, तर हाम्रो सम्पूर्ण नीति र आचरणले हामीलाई दाई कांग्रेस बनाउनु हुँदैन ।’

मार्क्सवादको रक्षा र सिर्जनात्मक विकास, एउटा कम्युनिष्ट केन्द्र बनाउने लक्ष्य, राजनीतिक परिवर्तनलाई सामाजिक, आर्थिक क्षेत्रमा विस्तार गर्ने र नागरिकको जीवन फेर्ने दिशातर्फ सबै कम्युनिष्ट पार्टी एक ठाऊँमा उभिनुपर्ने उहाँले बताउनुभयो ।

राजनीतिक अधिकारसँगै भौतिक जीवनमा परिवर्तनको अवस्था सिर्जना गर्ने र त्योभन्दा अघि बढेर समाजवादको बाटो तय गर्न सबै कम्युनिष्ट पार्टीहरुबीच स्पष्ट दृष्किोण चाहिने श्रेष्ठले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक प्रतिवेदनले पनि सबै कम्युनिष्ट पार्टीलाई एक ठाऊँमा उभिने वातावरण बनाउने भन्दै २००६ सालमा बनेको कम्युनिष्ट पार्टीलाई राजनीतिक र वैचारिक हिसाबले पुनर्गठन गर्नुपर्नेमा नेकपा प्रवक्ता श्रेष्ठले जोड दिनुभयो ।

अन्तिम अपडेटस् साउन ४, २०७६