Swornakshar Logo

निलम्बित डीएसपी कुमोद ढुंगेल खोज्दै अख्तियार र प्रहरी

१ साउन । काठमाडौं । नेपाल प्रहरीका निलम्बित प्रहरी नायब उपरीक्षक डीएसपी कुमोद ढुंगेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपस्थित गराउन भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । ‘ढुंगेलसँग केही कुरा बझ्नु छ’ भन्दै आयोगले एक साताअघि प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो ।

ढुंगेलसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआएपछि पत्र पठाइएको अख्तियारको भनाइ छ । प्रहरी प्रधान कार्यालयले ढुंगेललाई सम्पर्कमा ल्याउन महानगरीय प्रहरी परिसरलाई निर्देशन दिइसकेको छ । ढुंगेलको सम्पत्ति शंकास्पद देखिएकाले उनीसँग सोधपुछ गर्न खोजिएको अख्तियार स्रोतको भनाइ छ ।

ढुंगेलले भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको दाबी गरेका छन् । ‘के विषयबारे मलाई पत्र पठाए, त्यो मलाई थाहा छैन,’ उनले भने, ‘मेरो पुरानो घर नुवाकोटमा पत्र पुग्यो भन्ने सुनेको छु । म आफैं उपस्थित हुन्छु ।’

२६ चैत २०७५ मा रानीबारीका लालेन्द्र शेरचनको घर डकैती तथा लुटपाट घटनाका अभियुक्त विक्रम श्रेष्ठसँग घटना भएको भोलिपल्टै ढुंगेलले भेट गरेको पुष्टि भएपछि उनलाई निलम्बन गरेर प्रहरी प्रधान कार्यालयले अनुसन्धान थालेको थियो ।

उनी १९ वैशाखमा निलम्बनमा परेका हुन् । निलम्बनमा पर्नुअघि उनी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख थिए ।

तीन वर्षअघि २३ असोज २०७४ मा निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या भएको केही महिनामै ढुंगेल र गुन्डा नाइके सुजन पौडेल (रमेश बाहुन)बीच जेलभित्रैबाट समेत निरन्तर सम्पर्क भएको पाइएको थियो ।

गौचन हत्याका मुख्य योजनाकार गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग पनि ढुंगेलको साठगाँठबारे चर्चा थियो । बाहुन र बस्नेत अहिले जेलमा छन् ।