मकवानपुरमा बर्सेनि बग्छ करोडौँका सडकहरु

१ साउन । काठमाडौं । मकवानपुरमा तीनै तहका सरकारले सडकमा करौडौँ रुपैयाँ खर्च गर्ने गरेका छन् । नयाँ सडक निर्माण, निर्माण भैसकेका सडकलाई थप निर्माण र सडकको स्तरोन्नति लगायतका काम गर्न वार्षिकरुपमा करोडौँ रुपैयाँ खर्च हुने गरेको छ ।
तर स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले सडक निर्माणका लागि गरेको करोडौँ रुपैयाँ बाढी र पहिरोमा बग्ने समस्या भने यथावत् नै छ । असार महिना सकिँदा लगातार वर्षाका कारण मकवानपुरका दशवटै स्थानीय तहमा बनाइएका केही सडक बाढी र पहिरोका कारण बगेका छन् ।

केही सडकहरु गाडी चल्नै नसक्ने अवस्थामा पुगेका छन् । तीनै तहका सरकारले प्रत्येक वर्ष सडक निर्माण र मर्मत सम्भारका लागि ठूलो बजेट विनियोजन गर्दछ । ग्रेड नमिलेको, घुम्ती नै घुम्ती र भिरको बाटो, हिलो, जंगल, खेतबारीमा सडक निर्माण गरिएका कारण गाउँगाउँका सडकमा गरिएको लगानी बर्सेनि भेलसँगै बग्ने गरेको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिकामा गएको आर्थिक वर्षमा नयाँ निर्माण गरिएका सडक बाढी र पहिरोसँगै बगेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । पहिले बनाइसकेका सडकभन्दा पनि गएको आर्थिक वर्षमा नयाँ ट्रयाक खोलिएका सडक बाढी र पहिरोको जोखिममा परेको उनले बताए ।
‘बाढी र पहिरोका कारण वर्षौं अघि बनेका र गाउँपालिका पुग्ने सडक समेत अबरुद्ध बनेका छन् । अबको केही दिनमा नै सडक निर्माण गरिनेछ, अध्यक्ष मल्लले बताए ।
मकवानपुरमा स्थानीय तह गठनपछिका २ वर्ष र त्यसअघि बर्सेनि सडकमा निर्माण र मर्मतको नाममा करौडौँ बजेट खन्याइएको छ । बनेका सडक कति बगे, ती सबै विवरण आउन बाकी कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताए । बाढी र पहिरोका कारण अहिले कैलाश जाने तीनैतिरका सडक बिग्रिएका र गाउँका नयाँ सडकहरु धेरैजसो भत्किएका उनले जानकारी दिए।
बर्सेनि सडक बग्दा यहाँका स्थानीय बासीले सास्ती खेप्ने गरेका छन् । मकवानपुरका विकट राक्सिराङ, कैलाश, बागमती लगायतका गाउँपालिकाका केही वडामा असारदेखि कात्तिकसम्म ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने स्थानीय बासिन्दाले बताएका छन् । गाउँमा उत्पादन भएको तरकारी बजारसम्म पुर्याउन र बजारबाट दैनिक उपभोग्य सामान गाउँमा लैजान समस्या भएको उनीहरुको गुनासो छ ।
सडक अवरुद्ध भएकै कारण मकवापनुरको मनहरी गाउँपालिकाको हाँडीखोलामा उत्पादित तरकारी बजारसम्म पुर्याउनका लागि किसानहरुले सबैभन्दा धेरै सास्ती खेप्नुपरेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए। गाउँका सडक अवरुद्ध हुँदा गर्भवती महिला, बुढाबुढी र बिरामीले बाढी र पहिरोले बगेका सडकमा यात्रा गर्दा सबैभन्दा धेरै सास्ती खेपेका छन् ।
यसअघि हरेक सडक योजनामा डोजर लगाएर खन्ने, खोस्रने र पुर्ने काम मात्र भएकाले अहिले सास्ती खेप्नुपरेको स्थानीयले दाबी गरेका छन् । योजनाबद्ध र सुरक्षाका प्रविधि उपयोग नगर्दा हरेक वर्षको बजेट बाढी र पहिरोसँगै बगेको छ ।
बाढी, पहिरोका कारण धेरै सडक बिग्रिएको र अब बनाउने तयारी भैरहेको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाइँले बताए । वर्षौंअघि बनेका र पछिल्ला दुई वर्षमा बनेका सडक बिग्रिएकाले अबको केही दिनमा खुलाइसक्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्: