Bagmati Samachar Logo

बिल गेट्सलाई उछिन्दै बर्नार्ड अर्नल्ट अर्बपति सूचीको दोस्रो स्थानमा

१ साउन । काडमाडौं । ब्लूमबर्गको अर्बपतिको सूचीमा गएको सात वर्षको इतिहासमा बिल गेट्सले दुई नम्बरबाट तल्लो स्थानमा झर्नुपरेको थिएन । तर माइक्रोसफ्ट कर्पका सह संस्थापक बिल गेट्स सात वर्षको अवधिमा पहिलो पटक तेस्रो स्थानमा झरेका छन् ।

फेशन कम्पनी लुई विटोन एलभी का मालिक बर्नार्ड अर्नल्ट कुल सम्पत्ति १०७ दशमलव ६ बिलियन डलरका साथ अर्बपति सूचीको दोस्रो स्थानमा परेका हुन् । उनको सम्पत्ति बिल गेट्सको भन्दा २०० मिलियन डलर बढी छ । बिल गेट्सको कुल सम्पत्ति १०७ बिलियन डलर छ ।

अर्नल्टले सन् २०१९ मा ३९ बिलियन डलर जोड्दै दोस्रो स्थानमा परेका हुन् । उनी ब्लूमबर्गको सूचीमा पाँच सय जनामध्ये सर्वाधिक व्यक्तिगत कमाइ गर्नेमा परेका छन् ।

अर्बपति सूचीको पहिलो स्थानमा भने अमेजनका संस्थापक तथा प्रमुख जेफ बेजोस छन् । उनको कुल सम्पत्ति १२५ बिलियन डलर छ ।

ब्लूमबर्गका अनुसार बिल गेट्सले कुनै पनि संस्थालाई रकम दान नगर्ने हो भने उनी यो सूचीको पहिलो नम्बरमा हुन्छन् । उनले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनबाट ३५ बिलियन डलर दान गरिसकेका छन् ।