Swornakshar Logo

जेलमा रहेका हेमन्तप्रकाश वली विप्लवको वार्ता टोलीको संयोजक

१ साउन । काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच वार्ता हुने भएको छ ।

सरकारले विप्लव नेकपासँग वार्ता गर्न विभिन्न स्रोत प्रयोग गरिरहेको थियो । सोहीअनुसार सरकारले नख्खु जेलमा रहेका विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश वलीलाई छाडेपछि विप्लव नेतृत्वको नेकपाले वार्ता टोलीको संयोजक वलीलाई नै बनाउने तयारी गरेको एक नेताले बताए ।

गत १० फागुनमा ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा भएको बम विस्फोटमा एक जनाको ज्यान गएको थियो । मध्यकमान्डको इन्चार्जको हैसियतले वलीले विज्ञप्ति निकालेर सो विस्फोटको जिम्मा लिएका थिए । सो विज्ञप्तिपछि सरकारले वलीमाथि निगरानी बढाएको थियो ।

उनलाई सोही मुद्दामा ९ चैतमा काभ्रेबाट पक्राउ गरिएको थियो । सो क्रममा उनीसहित नौ जना पक्राउ परेका थिए । तर, उनीसँग पक्राउ परेका दुई जना जेठमै छुटिसकेका छन् ।

केही दिनपहिले गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले हेमन्तप्रकाश वलीलाई जेलमै भेटेका थिए । राईले वलीलाई वार्ताको वातावरण बनाउन भेटेको बताइन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर राई वलीलाई भेट्न नख्खु जेल गएको उच्च स्रोतले बताएको छ । उनीहरूबीच के कुरा भयो, त्यो भने अहिलेसम्म कसैले खोलेका छैनन् ।

नेकपा विप्लव स्रोतका अनुसार गृह सचिव राईले वलीलाई ुवार्तामा आउनुपर्‍यो, हामीले के गर्नुपर्छ, हामी तयार छौं । तपाईंले पनि भन्नुपर्‍यो पार्टीमा’ भनेका थिए ।

राईले वलीलाई भेटेपछि महासचिव विष्णु पौडेलको सम्पर्क मानिस गएर पुनः वलीलाई भेटेको ओली निकटले बताए ।

त्यस्तै, पौडेल नख्खु जेलमा वलीलाई भेट्न गएको समाचार आए पनि उनी भेट्न गएको कुनै पनि आधिकारिक जानकारी छैन । विप्लव नेकपा स्रोतका अनुसार पौडेलले आफू नगएर एक जना मानिस पठाएका थिए । उनले पनि वार्ताका लागि पहल गर्नुपर्छ भनेर सल्लाह गरेका थिए ।