Swornakshar Logo

नेकपा एकताः दुई अध्यक्षले टुङग्याए एकताको काम

३१ असार । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताले पार्टी एकता प्रक्रिया टुङग्याएका छन् । बालुवाटारमा झण्डै चार घण्टा छलफलपछि एकता प्रक्रिया टुंगिएको महासचिव विष्णु पौडेलले बताए ।

पौडेलले भने, ‘एकताको सम्पूर्ण काम हार्दिकताका साथ सम्पन्न भएको छ । गृहकार्यको निष्कर्ष अब बस्ने सचिवालय बैठकमा पेस हुन्छ ।’ छिट्टै बस्ने सचिवालय बैठकपछि बाँकी कुरा सार्वजनिक गर्ने उनले बताए ।

उनका अनुसार केन्द्रीय विभाग र केन्द्रीय सदस्यको कार्यविभाजनको काम पुरा भएको छ ।

एकताअन्तर्गत सम्पूर्ण नेता कार्यकर्तालाई उपयुक्त जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत भएको उनले बताए ।

शीर्ष नेताको सहमतिमा यसअघि नै राजनीतिक प्रतिवेदन पारित गरेर नेकपाले प्रकाशनका लागि पठाइसकेको छ ।

यसअघि ललितपुरमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पमल दाहाले एकताको बाँकी प्रक्रिया आजै टुंगिने बताएका थिए ।