Swornakshar Logo

कुलेखानीको क्षमता भन्दा बढी पानी भरिपछि ड्याम खोल्ने तयारी, चार जिल्लाका नागरिकलाई सतर्क रहन आग्रह

३० असार । मकवानपुर । मकवानपुरको कुलेखानी ड्याम भरिएपछि खोल्ने तयारी भएको छ । ड्याममा खतराको संकेत देखिएपछि ड्याम खोलेर पानी छाडिने भएको छ ।
केहि दिन यताको भारी बर्षाका कारण कुलेखानीको क्षमताभन्दा बढी पानी जमेपछि जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने भएको हो ।

कुलेखानीको ड्याम खोल्दा त्यहाँबाट बग्ने पानीले चार जिल्लामा प्रभाव पार्ने भएकाले सतर्क रहन मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाले आग्रह गरेका छन् ।

कुलेखानीको क्षमता कुल १ हजार ५ सय ३० मिटर रहेको छ । बिहान ६ बजे सम्ममा १ हजार ५ सय २५ दशमलब ४ मिटर पानी भरीसकेको छ । प्रतिघण्टा २ मिटरका दरले पानी बढीरहेकाले कुलेखानीमा खतराको संकेत देखिएको हुँदा पानी बाहिर निकाल्न लागिएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।

सोमबार बिहान ८ बजेबाट कुलेखानी ड्यामभित्रको पानी ढोका खोलेर बाहिर छोडिने भएको हो । नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राबिधिकको सहभागितामा कुलेखानीको पानी निकाल्न लागिएको हो ।

कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसोवर, बागमती गाउँपालिकाका साथै सर्लाही, रौतहट र सिन्धुली जिल्लाका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

बागमती खोला भएर कुलेखानीको पानी बग्ने भएकाले त्यस आसपासका क्षेत्रमा रहेकाहरु विशेष सतर्क बस्न प्रमुख जिल्ला अधिकारी तामाङले आग्रह गरेका छन् ।