Bagmati Samachar Logo

प्रधानमन्त्रीको निर्देशनः ‘भ्रष्टाचार नियन्त्रण गर्न अनुगमनको पनि अनुगमन गर्नुस्’

२९ असार । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, निर्माणको काममा तीव्रता दिन सबै मन्त्रालयलाई सचेत गराएका छन् ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउन ‘अनुगमनको पनि अनुगमन’ गर्नु पर्ने बताएका छन् । उनले सबै मन्त्रालयलाई भ्रष्टाचार नियन्त्रण गर्न सम्बन्धित सबै निकायलाई कडा निर्देशन दिएका छन् ।

शुक्रबार मन्त्रालयहरुको कामको समीक्षात्मक बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले विकास, निर्माणको काममा तीव्रता दिन मातहतका सबै निकायलाई निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिए ।

समीक्षात्मक बैठकमा मन्त्रीहरुले आफ्नो एक वर्षे कार्यकाल मुलुकको समृद्धिको आधार निर्माणमा केन्द्रित भएको कार्य प्रगति विवरण प्रधानमन्त्री ओली समक्ष पेश गरेका थिए ।

संघीयता कार्यान्वयनका लागि कानुनी, संस्थागत र नीतिगत संरचना तय गर्ने काम एक वर्षको कार्यकालमा भएको विवरण मन्त्रीहरुले प्रधानमन्त्री समक्ष पेश गरेको प्रवक्ता कुँवरले बताए । त्यसले मुलुकको समृद्धिका लागि आधार निर्माण गरेको प्रधानमन्त्री ओलीको निष्कर्ष थियो ।