Swornakshar Logo

राहत, उद्धार र उपचारमा ढिलाइ नगर्न सरकारलाई संसदीय समितिको निर्देशन

२९ असार । काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो र डुबान पीडितहरुको उद्धार, राहत तथा उपचारको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्धार, राहत र उपचारको उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

बाढी, पहिरो र डुबान पीडितहरुको व्यवस्थापनमा ढिलाइ नगर्न भनिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् । बैठकले बाढी, पहिरो र डुबानबाट विस्थापित भएकाहरुको पुर्नबासको तत्काल व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ । त्यसैगरी वेपत्ता नागरिकहरुको खोजी कार्यलाई पनि तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइएको पनि समितिले जनाएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्याबारे समितिलाई जानकारी गराए ।गृहमन्त्री थापाले घाईतेहरुको स्थानीय अस्पतालहरुमा उपचारको व्यवस्था मिलाइएको बताए ।

तीन दिनयता आएको लगातारको वर्षाका कारण ३८ जिल्ला बाढी, पहिरो र डुबानबाट बढी प्रभावित भएक छन् ।