Swornakshar Logo

हेलिकप्टरसहित सेना फिल्डमा, ३० हजार प्रहरी परिचालन सशस्त्र प्रहरीले गर्यो ८ सय जनाको रेस्क्यू

२८ असार । काठमाडौं । देशको विभिन्न भागमा परेको अविरल वर्षाले गर्दा आएको बाढी र पहिरोबाट पीडितहरुको उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना फिल्डमा खटिएको छ ।

बाढी र पहिरोले आफ्नो बास समेत गुमाएका प्रहरीहरु जनताको जिउधन र बासको सुरक्षा तथा व्यवस्थापनमा खटिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

मुलुकभर नेपाल प्रहरी ३० हजारभन्दा बढी कर्मचारी प्रत्यक्ष रुपमा प्रभावित क्षेत्रमा खटिएको बताइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ६ हजार ३०५, प्रदेश २ मा ५ हजार ७०२, प्रदेश ३ मा ३ हजार ४०५, प्रदेश ६ मा ३ हजार ११२ र काठमाडौं उपत्यकामा ८ हजार ८५६ प्रहरी परिचालन भएको छ ।

बाँकी प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ मा दैविक विपत्तिको अवस्था हेरेर आवश्यकताअनुसार प्रहरी परिचालन गरिने बताइएको छ ।

यस्तै सशस्त्र प्रहरी पनि बाढी र पहिरोबाट प्रभावित क्षेत्रहरुमा खटिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरज कुमार श्रेष्ठले बताए ।

डीआईजी श्रेष्ठका अनसार ८ वटा बाहिनीमा ५० जनाको टिम, गणहरुमा ३५ जनाको टिम र गुल्मलगायत अन्य साना कार्यालयहरुमा १० जनाको टिम स्रोतसाधनसहित स्ट्यान्डबाई रहेको छ ।

हालसम्म सशस्त्र प्रहरीले बाढी र पहिरोबाट अलपत्र परेका ८०० जनाको रेस्क्यू गरिएको डीआईजी श्रेष्ठले बताए । उनले भने, ‘अवरुद्ध भएको राजमार्गहरु खुलाउने प्रयास पनि भइरहेको छ । यात्रुहरुको सुरक्षा गर्ने काम पनि सशस्त्र प्रहरीले गरेको छ ।’

बढी प्रभावित भएका ठाउँहरुमा अन्य ठाउँबाट थप साधनस्रोत पुर्याएर उद्दार कार्यमा सशस्त्र प्रहरी परिचालन भएको उनले बताए । यस्तो आपतकालीन परिस्थितिमा कसैलाई पनि विदा दिएका छैनौं । सबैजना आ–आफ्नो ठाउँबाट खटिएका छन् ।’

यस्तै नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार जिल्लामा भएका सबै नेपाल आर्मीहरु बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा खटिएका छन् ।

यस्तै उद्दार कार्यमा नेपाल आर्मीको ३ वटा हेलिकप्टर समेत परिचालन भएको उनले बताए । सुर्खेत, इटहरी र काठमाडौंबाट हेलिकप्टर प्रभावित क्षेत्रमा पठाइएको उनले बताए ।

बाढी, पहिरो र चट्याङले २४ वटा जिल्लाको जनजीवन प्रभावित बनेको छ । यस्तै बाढी पहिरोमा परेर अहिलेसम्म ३२ जनाले ज्यान गुमाएका छन् ।