सप्तकोशीमा पानीको बहाव उच्च, ब्यारेजको ढोका बन्द गर्न भारतको दबाब
![](https://www.bagmatisamachar.com/wp-content/uploads/2019/07/1562929693saptakoshi-bridge.jpg)
२८ असार । काठमाडौं । लगातार परेको पानीले सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ।
एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिन्छ। आज अपराह्न २ बजेको मापनअनुसार २ लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले बताए।
अहिले ब्यारेजका ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन् ।
भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए। वर्षा निरन्तर जारी रहेकाले सप्तकोसीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोसी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ।
यसैबीच आज प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: