Bagmati Samachar Logo

कोसी ब्यारेजमा खतराको संकेत, ३२ ढोका खोलियो

२७ असार । काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । कोसी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोसीमा शुक्रबार पानीको बहाव प्रतिसेकन्ड १ लाख ६५ हजार ७ सय २० क्युसेक नाघेको छ । यो बहाव बिहीबारको तुलनामा बढी हो ।

पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ३२ वटा ढोका खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी ज्ञानेन्द्र फुयाँलका अनुसार पानीको बहाव बढ्ने क्रम जारी छ ।

‘कोसी नदीका लागि वर्षाको समयमा यतिको बहाव सामान्य मानिन्छ,’ डीएसपी फुयाँलले भने, ‘तर, पानीको बहाव बढ्ने क्रममा रहेकाले खतरा पनि बढ्दै गएको छ त्यसैले सतर्कता अपनाएका छौं ।’

१ लाख ५० हजार क्युसेक प्रतिसेकेन्ड नाघेको खण्डमा कोसीको बहावलाई प्रारम्भिक सावधानी सूचकका रुपमा लिने गरिएको उनले बताए । नदीको जलस्तर बढ्दा कोसी ब्यारेजमा भन्दा सम्भावित जोखिम भने आसपासका क्षेत्रमा पर्ने गर्दछ । चतरामा रहेको बाढी मापन केन्द्रमा पानीको तह उच्च बिन्दुमा पुगे त्यसको प्रभाव आसपासका देखापर्ने सम्भावना रहन्छ ।