Swornakshar Logo

विश्वप्रकाशको आरोपः असंसदीय प्रधानमन्त्रीका फोटोकपी सञ्चारमन्त्री

२६ असार । काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारका मन्त्री मनपरी बोल्दै हिँडेकोले उनीहरुलाई सम्हाल्न आग्रह गरेका छन् ।

बिहीबार साँझ ट्वीट गर्दै शर्माले प्रश्न गरेका छन, ‘प्रधानमन्त्रीज्यू फोटोकपी मन्त्रीलाई सम्हालेर राख्ने कि लगाम उपहार पठाऔं ?’

उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई ‘फोटोकपी मन्त्री ’ को उपमासमेत दिएका छन् । शर्माले प्रधानमन्त्रीले नै असंसदीय शब्द बोल्दै हिँडेको आरोप लगाएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले कांग्रेसमाथि दिउँसो बीपी भन्ने कांग्रेसले राति विप्लवलाई सघाएको आरोप लगाएका छन् ।

‘जब प्रधानमन्त्री असंसदीय शब्द बोल्नुहुन्छ संसदमा, तब कुनै फोटोकपी मन्त्रीसगँ संस्कारको अपेक्षा कसरी गर्नु ?’, शर्माले ट्वीटमा भनेका छन्, ‘मनपरी बोलिको जबाफ दिँदै हिँड्नु उचित हुन्न ।’

शर्माले मन्त्री वाँस्कोटालाई हलेदोको उपमा दिँदै ‘चिनिसकेपछि धेरै कोट्याउनु हुन्न’ भनेका छन् ।

यसअघि शर्माले बुधबार नै गरेको ट्वीटमा भनेका थिए ‘हामी जीवनको खबर खोज्दैछौं, प्रधानमन्त्री तपाईं र विप्लव मृत्युको समाचार बाँडिरहनु भएको छ । सञ्जीव र नीरकुमार दुवै राई भाई करोडपति आमा बाबुका छोरा थिएनन् । एक प्रहरी र अर्का विद्रोही युवा, आज यी सँगै यिनको परिवारको सपना मारिएको छ ।’