Swornakshar Logo

जो मरे पनि नेपाली हुन्, रगतको होलि नखेलौंः कांग्रेस

२५ असार । काठमाडौ । नेपाली कांग्रेसले सत्तारुढ नेपाल सरकार र विद्रोही विप्लव नेतृत्वको नेकपा लाई जनताको रगतको होली नखेल्न चेतावनी दिएको छ । भोजपुरमा बुधबार एक प्रहरी सुरक्षाकर्मी र विद्रोही विप्लव समूहका कार्यकर्ताबीच भएको भिडन्तमा मारिने दुईजना नेपाली नागरिक नै भएको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हिंसा बन्द गर्न संयुक्त चेतावनी र अपिल गरेका हुन् ।

‘जनताको बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्नुको सट्टा कम्युनिस्ट पार्टीको सरकार शान्ति सुरक्षा स्थापनाको नाममा र विद्रोही नेकपा क्रान्तिको नाममा जनताको रगतको होलि नखेलुन्’, प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सर्लाही घटनाको संसदीय छानबिनको र भोजपुर घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गर्दछ ।’

उनले भोजपुरमा प्रहरी जवान सन्जिव राई र विद्रोही माओवादी समुहका कार्यकर्ता निरकुमार राइ मारिनु पर्ने दुवै घटना दुखद भएको टिप्पणी गरेका छन् ।

प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तीमा काठमाडौमा बम बिस्फोटबाट जनधनको क्षति, सर्लाहीको फेक इन्काउन्टर र पुर्वी पहाडमा फेक इन्काउन्टरको पहिलो घटनाले समाजलाई त्रसित बनाएकोले कांग्रेसले तत्कालीन विद्रोही प्रचण्ड नेतृत्वको हिंसात्मक विद्रोहलाई परित्याग गर्न गरेको योगदानलाई स्मरण गर्न सरकारसँग आग्रह गरेका छन् ।

‘विप्लवको हिंसा झैं सरकारको निषेधको रणनीति पनि गलत छ’, शर्माले भनेका छन्, ‘दर्तानै नरहेको दलमाथी प्रतिबन्धको घोषणाले मुलुकमा समाधान होइन तनाव सृजना गर्न योगदान पुर्याएको छ ।’ कांग्रेसले निषेधको नीति त्यागेर संवाद मार्फत समाधान पहिल्याउन प्रधानमन्त्रीको शासकीय योग्यता देशले खोजेको जनाएको छ ।