Swornakshar Logo

प्रदेश सरकार श्रमजीवीको घर आँगनसम्म पुग्दैछः मन्त्री जमकट्टेल

२३ असार । हेटौंडा । प्रदेश सरकारले अब श्रमजीवी,गरीब किसान मजदुरको पक्षमा काम गर्न थालेको प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले बताए । प्रदेश सरकारको पहिचान निशुल्क कानूनी सहायता अभियान कार्यक्रमको आज हेटौंडामा आयोजित समिक्षा कार्यक्रमलाई संबोधन गर्दै उनले श्रमजीवी सर्वहारा वर्ग अन्यायमा परेका दलित, महिला सम्म प्रदेश सरकार पुग्ने गरी काम भइरहेको बताए ।
उनले भने ‘ श्रमजीवी सर्वहाराकोलागि कानूनी सहायता कार्यक्रम ल्याइएको हो । यसबाट अन्यायमा परेको जनताले न्याय कानूनी सहायता पाउने छन् । अब प्रदेश सरकार हरेक गरीब जनताको घरआँगनमा पुग्छ । ’

गाउँ घरमा छुवाछुत लगायतका जघन्य खालका अपराधहरु कानूनी सहजकर्ताले प्रदेश सरकारलाई रिपोर्ट गर्नुपर्ने बताए । कानूनी सहजकर्ताहरुलाई क्षमता र अनुभव बनाएर काम गर्नका लागि निर्देशन दिदै उनले भने–‘नकारात्मक भन्दा पनि सकारात्मक सोच बनाएर काम गर्नुपर्छ । शोच र काम गर्ने शैलिमा परिवर्तन हुनुपर्छ । अझै कर्मचारी र सुरक्षा निकायले काम गर्ने शैलि परिबर्तन गर्नु आवस्यक छ ।’
तीन तहका सरकारका आ आफ्नै अधिकार भएकाले यसै अनुसार सहकार्य गरेर काम गर्नुपर्ने मन्त्री जमकट्टेलले बताए ।

स्थानीय सरकार र समन्वय समितिलाई बलियो बनाएर काम गर्नुपर्ने उनले बताए । अहिले पनि एकले अर्कालाई अधिकार दिन नचाहने समस्या रहेको उनको भनाई छ । उनले भने ‘संबिधान भन्दा माथी कोही पनि नभएकाले यसलाई सबैले बुझ्नुपर्ने हुन्छ ।’

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, रामेछाप जिल्ला समन्वय समितिका उपप्रमुख दिपा पाख्रीन, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्ट लगायतको सहभागीता थियो । कार्यक्रममा सहभागि ११ वटा जिल्ला समन्वय समितिका उपप्रमुख, स्थानीय तहमा खटाइएका सहजकर्ताहरुले आफ्ना समस्या र धारणाहरु व्यक्त गरेका थिए ।