Swornakshar Logo

विषादी परीक्षण नगर्ने निर्णयमा सचिवले डुबाएः मन्त्री यादव

२३ असार । काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले भारतबाट नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय गर्नुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाएका छन् ।

मन्त्री यादवले सोमबार पत्रकार सम्मेलन गरी सचिवहरुको भरपर्दा आफू डुबेको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र आफ्नै मन्त्रालयका ३ जना सचिवहरुले गलत सुझाव दिएका कारण आफू सो निर्णयमा डुबेको मन्त्री यादवको दावी छ । मन्त्री यादवले सो निर्णयको जिम्मेवारी भने आफूले लिने पनि स्पष्ट पारे । उनले आफूलाई गुमराहमा राख्ने सचिवहरुलाई ठिक ठाउँमा बस्न पनि सचेत गराए ।

मन्त्री यादवले सरकारलाई विवादमा ल्याउने काम सचिवहरुले गर्न नहुने पनि बताए ।

आफूले ती विषयमा अध्ययन नगरी निर्णय गर्दा गल्ती गरेको पनि मन्त्री यादवको स्वीकारोक्ति थियो । उनले सो निर्णय कसैको दवावमा परेर नगरेको पनि बताए ।

पत्रकार सम्मेलनमा बोल्दै उद्योग सचिव यामकुमारी खतिवडाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवका कारण सो निर्णयमा गल्ती हुन पुगेको स्पष्टीकरण दिइन् ।
सरकारले परीक्षणका लागि पूर्वाधार नभएको भन्दै आयातित तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि स्थगन गर्ने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ ।