Swornakshar Logo

भोटेकोशीमा बाढीः चार जलविद्युत् आयोजनामा क्षति, दुई जना बेपत्ता

२२ असार । काठमाडौं । भारी बर्षापछि सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा बाढी आउदा दुई जना बेपत्ता भएका छन् । बाढीका कारण नदी आसपासका चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

बाढीले निर्माणाधीन एक १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी, ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशीसँगै चाकुखोला जलविद्युत् आयोजना र शुभश्री हाइड्रोपावरमा क्षति पुगेको सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए ।

बाढीले बेपत्ता बनाएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा शुभश्री हाइड्रोका साइट इन्चार्ज इटहरीका यादवप्रसाद काफ्ले र इलेक्ट्रिसीयन बाराका रामअबरतार चौधरी रहेको आफ्लेले जानकारी दिए ।

बाढीका कारण दुईजना घाइते भएका छन् । घाइते हुनेमा लाफिङ बुद्ध हाइड्रो पावरका पेम्बा थुप्तेन शेर्पा र शुभश्रीकै कामी तामाङ छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ ।

त्यस्तै बाढीले भोटेकोसी गाउँपालिकाको मार्मिङ चाकुमा एक घर र साँघु बगाएको छ । बाढीले कोदारी राजमार्गछेउको चाकु हृयाङ्लेगाउँस्थित घर, चाकु बजार वारपार गर्ने पुल एकैपटकमा बगाएको हो ।

बाढीले पु¥याएको क्षतिबारे पूर्ण विवरण आउँन बाँकी छ । बाढीले जलविद्युत् आयोजनासँगै सडकमा पनि क्षति पुर्याएको छ । बाढीपछि स्थानीयमा त्रास बढेको छ ।

दुई वर्षअघि भोटेकोशीमा आएका बाढीका कारण सयौं परिवार विस्थापित भएका थिए ।

शनिबार राति त्यस क्षेत्रमा भीषण बर्षा भएको थियो ।